ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् ।
आठराई त्रिवेणी गाउँपालिकाको हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर आज बिहान मैवाखोलाको पुलको छेउबाट करिब १५ मिटर तल खसेपछि खोलाले बगाएको हो ।
दुर्घटनापछि ट्याक्टरमा सवार मेरिङदेन गाउँपालिका–६ नाल्बोका १४ वर्षीय समीर नाल्बो इलाका प्रहरी कार्यालय दोभानमा पुगेर घटनाबारे मौखिक जानकारी गराएका थिए ।
प्रहरीका अनुसार दुर्घटनामा परेको ट्याक्टर पुलबाट करिब २० मिटर तल मैवाखोलाको बगरमा फेला परेको छ । ट्याक्टर चालकको ठेगाना तत्काल खुल्न नसकेका समीर बराइली र ट्याक्टरमा सवार अनिल नाल्बोलाई खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईले जानकारी दिनुभयो ।
बेपत्ता भएका दुवै जनाको खोजीका लागि प्रहरी निरीक्षक विन्देश्वर यादवको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ । प्रहरीले खोलाको आसपासका क्षेत्रमा खोजी कार्य जारी राखेको जनाएको छ ।
उक्त ट्याक्टर अरुण भेनियर कम्पनीको रहेको र घटनाबारे कम्पनीका सञ्चालक प्रकाश नाल्बोसँग आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थल इलाका प्रहरी कार्यालय दोभानबाट करिब ८०० मिटर उत्तरतर्फ रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान तथा बेपत्ताको खोजी कार्य जारी रहेको छ ।
Facebook Comment