भरतपुर–काठमाडौं उडानमा यात्रुको चाप, दैनिक ११ वटासम्म उडान

डिसी नेपाल
२२ भदौ २०८३ ८:३३

चितवन। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरलगायत विभिन्न स्थानमा सडक भासिएर यातायात अवरुद्ध भएपछि भरतपुर–काठमाडौं हवाई यात्रामा यात्रुको चाप बढेको छ। सडकमार्ग असहज बनेसँगै यात्रुको माग बढेपछि भरतपुर विमानस्थलबाट काठमाडौंका लागि हुने उडानको सङ्ख्या दोब्बरभन्दा बढी पुर्‍याइएको छ।

भरतपुरबाट काठमाडौंका लागि हाल बुद्ध एयरले मात्रै नियमित उडान गर्दै आएको छ। बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा दैनिक पाँचवटा उडान हुने गरेकामा सडकमार्गमा समस्या देखिएपछि उडान सङ्ख्या बढाएर दैनिक ९ देखि ११ वटासम्म पुर्‍याइएको छ।

उनका अनुसार यात्रुको चाप र आवश्यकताका आधारमा उडान थपघट गरिँदै आएको छ। सडकमार्गमा अवरोध र वर्षायामका कारण लामो दूरीको यात्रा असहज बनेपछि यात्रुले हवाई यात्रालाई प्राथमिकता दिन थालेका छन्।

भरतपुर–काठमाडौं रुटमा ‘एटीआर–७२’ जहाज सञ्चालन हुँदै आएको छ। उक्त जहाजले काठमाडौंबाट भरतपुर आउँदा करिब ६५ देखि ७० जना यात्रु बोक्ने गर्छ भने भरतपुरबाट काठमाडौं जाँदा करिब ५० जना यात्रु बोक्ने गरेको बस्नेतले जानकारी दिए।

जहाजको क्षमता ७२ जना भए पनि भरतपुर विमानस्थलको धावनमार्ग तुलनात्मक रूपमा छोटो भएकाले पूर्ण क्षमतामा यात्रु बोक्न नसकिने उनले बताए।

कृष्णभिरमा सडक अवरुद्ध भएपछि चितवनबाट मकवानपुर हुँदै काठमाडौं जाने वैकल्पिक सडक प्रयोग गर्न सकिने भए पनि वर्षाका कारण उक्त मार्गबाट यात्रा गर्न पनि सहज नभएको यात्रुहरूले बताएका छन्। यही कारण भरतपुर–काठमाडौं हवाई सेवामा यात्रुको माग थप बढेको हो।

भरतपुर विमानस्थलमा चितवनबाहेक नवलपरासी, गोरखा, तनहुँ, लमजुङ र मकवानपुरलगायत जिल्लाबाट समेत काठमाडौं जाने यात्रु आउने गरेका छन्। सडकमार्गमा देखिएको अवरोधका कारण ती जिल्लाका यात्रुसमेत हवाई सेवातर्फ आकर्षित भएका छन्।

यात्रुको बढ्दो चापलाई ध्यानमा राख्दै बुद्ध एयरले उडान सङ्ख्या बढाएर यात्रुलाई आवतजावतमा सहजीकरण गरिरहेको जनाएको छ। सडकमार्ग सहज नभएसम्म हवाई यात्रामा चाप कायमै रहने देखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *