चेपाङ समुदायले श्रद्धा र उल्लासका साथ मनाउँदैछन् न्वागी पर्व

डिसी नेपाल
२२ भदौ २०८३ ९:३७

हेटौँडा।  सीमान्तकृत आदिवासी चेपाङ समुदायले आफ्नो प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व न्वागी (छोनाम) आज विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै मनाइरहेका छन्।

विशेषगरी मकवानपुर, चितवन, धादिङ र गोरखाका चेपाङ बस्तीमा न्वागी पर्व श्रद्धा र उल्लासका साथ मनाइँदैछ। पर्वका अवसरमा बागमती प्रदेश सरकारले मकवानपुर, चितवन र धादिङ जिल्लामा आज सार्वजनिक बिदासमेत दिएको छ। चेपाङ समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा सम्मान गर्ने उद्देश्यले प्रदेश सरकारले विसं २०७९ देखि यी तीन जिल्लामा न्वागीका अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ।

न्वागी नयाँ अन्नबाली भित्र्याएपछि पितृ र भूमिलाई चढाएर मात्र उपभोग गर्ने परम्परासँग जोडिएको पर्व हो। चेपाङ समुदायमा पितृलाई अर्पण नगरी तथा भूमिको पूजा नगरी नयाँ अन्न, फलफूल र कन्दमूल खान नहुने धार्मिक विश्वास रहिआएको छ।

न्वागीका अवसरमा घैया धान, काउनो, गाभा, पिँडालु, घिरौँला, निबुवा लगायतका नयाँ उत्पादन पितृ तथा भूमिलाई चढाउने गरिन्छ। पर्वका दिन चेपाङ समुदायका झाँक्री अर्थात् पान्देले ढ्याङ्ग्रो बजाउँदै पूजा गर्ने, फलाक्ने तथा पितृको स्मरण गर्ने धार्मिक विधि सम्पन्न गर्छन्। कतिपय स्थानमा परम्पराअनुसार कुखुराको बलि दिने चलनसमेत रहेको छ।

पूजा तथा धार्मिक विधि सम्पन्न भएपछि आफन्त, छरछिमेकी तथा समुदायका सदस्य एक ठाउँमा भेला भएर सामूहिक भोज खाने, नाचगान गर्ने, टीका लगाउने र एकअर्कालाई आशीर्वाद तथा शुभकामना दिने परम्परा छ।

चेपाङ भाषामा न्वागीलाई ‘छोनाम’ भनिन्छ भने कतिपय स्थानमा यसलाई ‘पान्देई घ्यासा’ समेत भन्ने गरिन्छ। कुल र स्थानअनुसार भदौ सुरु भएदेखि नै झाँक्रीमार्फत पूजा तथा विभिन्न धार्मिक विधि सुरु हुने गरेको नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले बताए।

उहाँका अनुसार न्वागी नयाँ अन्न खाने दिन मात्र नभई पितृ र प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने महत्वपूर्ण पर्व हो। नयाँ बाली पितृलाई नचढाई खाएमा अनिष्ट हुने जनविश्वास चेपाङ समुदायमा रहेको उनले बताए।

न्वागीका दिनलाई चेपाङ समुदायले ‘वारना’ का रूपमा समेत मनाउने गर्छन्। यस दिन काममा ननिस्कने र परिवारका सदस्य घरमै बसेर पूजा, संस्कार तथा आफन्तसँगको भेटघाटमा सहभागी हुने परम्परा रहेको छ। वर्षभरिमा मृत्यु भएका आफन्तको सम्झनामा विशेष पूजा गर्ने गरिन्छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा चेपाङ समुदायको जनसङ्ख्या ८४ हजार ३६४ रहेको छ। उनीहरूको मुख्य बसोबास मकवानपुर, चितवन, धादिङ र गोरखाका पहाडी क्षेत्रमा रहेको छ।

हरेक वर्ष भदौ २२ गते चितवन, मकवानपुर, धादिङ र गोरखामध्ये पालैपालो एक जिल्लामा न्वागी महोत्सव आयोजना गर्ने गरिएको छ। न्वागी पर्वले चेपाङ समुदायको मौलिक संस्कृति, जीवनशैली, प्रकृतिसँगको आत्मीय सम्बन्ध, पितृप्रतिको सम्मान र सामाजिक एकतालाई प्रतिबिम्बित गर्ने महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा स्थान बनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *