भोटेकोशी बाढी: १३ सय ५६ जनाको शव फेला, करिब ५ हजार अझै बेपत्ता

डिसी नेपाल
२२ भदौ २०८३ १८:२४

काठमाडौं। भोटेकोशी बाढी तथा भीषण विपद्का कारण देशभर व्यापक मानवीय क्षति भएको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार साँझ सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार हालसम्म १ हजार ३ सय ५६ जनाको शव फेला परेको छ।

प्रभावित क्षेत्रबाट संकलन गरिएका शवमध्ये हालसम्म ९८ जनाको मात्रै सनाखत गरी आफन्तलाई बुझाइएको छ भने फेला परेका अवशेषहरूमा विभिन्न मानव अंगहरूसमेत समावेश रहेका छन्।

प्राधिकरणका अनुसार सबैभन्दा बढी चितवनमा ३६३ जनाको शव फेला परेको छ। त्यसैगरी नवलपरासी पूर्वमा २२३, नवलपरासी पश्चिममा २२१, नुवाकोटमा १९७ र रसुवामा १६९ जनाको शव भेटिएको छ। यस्तै गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव संकलन गरिएको छ।

पहिचान हुन नसकेका शवहरूको पहिचानका लागि डीएनए परीक्षणको व्यवस्था मिलाइएकाले आफ्ना गुमेका आफन्तको फोटो र नाता प्रमाणित कागजातसहित सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा नमुना उपलब्ध गराउन प्राधिकरणले अनुरोध गरेको छ।

बाढीपछि हालसम्म करिब ४ हजार ९९४ जना नागरिक सम्पर्कविहीन रहेका छन्। विपद्का कारण घाइते भएका ६ हजार ६ सय ७६ जनाको उपचार गरिएको छ, जसमा नेपाली सेनाबाट ३ हजार ३७९ जना र सशस्त्र प्रहरी बलबाट २ हजार ९७० जनाको उपचार भएको छ। विभिन्न १० वटा अस्पतालमा भर्ना भएका ३२७ जनामध्ये २४२ जना डिस्चार्ज भइसकेका छन्।

हालसम्म १३ हजार ३९६ जनाको सकुशल उद्धार गरिएको छ। प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत वितरणका लागि २१ हजार ४०२ जना सुरक्षाकर्मी खटिएका छन्, जसमा नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना सुरक्षाकर्मी परिचालन गरिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *