रसुवा जाने वैकल्पिक सडकबाट ठूला सवारीसाधन पनि सञ्चालन गर्न सकिने

डिसी नेपाल
२२ भदौ २०८३ २०:२१

नुवाकोट। त्रिशूलीदेखि बेत्रावतीसम्मको राजमार्ग क्षतिग्रस्त भएपछि रसुवा जिल्लासँग यातायात सम्पर्क कायम राख्न सञ्चालनमा ल्याइएको वैकल्पिक सडकलाई थप व्यवस्थित गरिएको छ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार ढिकुरे हुँदै फेदीबेसी चोक–हिरामुनिटार–चोगते–बोरे भञ्ज्याङ–सानो खोला–धनस्वारा–पाटिखर्क–भोर्ले–जिबजिबे–बोगटीटार हुँदै कालिकास्थान र धुन्चेसम्म पुग्ने सडकको बोरे भञ्ज्याङ–सानो खोला–धनस्वारा–पाटिखर्क खण्डमा सडक मर्मत तथा सुधार गरिएको हो।

पहिरो पन्छाउने, सडक सतह मिलाउने, कच्ची नाली निर्माण, साँघुरा स्थानमा सडक चौडा गर्ने, ग्राभेल राख्ने तथा कल्भर्ट निर्माणलगायतका काम गरिएको छ भने मर्मतपछि उक्त सडकखण्डमा ठूला सवारीसाधनसमेत दुईतर्फी सञ्चालन गर्न सकिने अवस्था बनेको मन्त्रालयले जानकारी दिएको छ।

यसअघि काठमाडौँ–टोखा–छहरे–चौघडा पुल–बाहुनबेसी–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटिखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकबाट चारपाङ्ग्रे साना सवारीसाधन सञ्चालन हुँदै आएका थिए।

अब पाटिखर्कसम्म पुग्न दुई वटा वैकल्पिक सडक उपलब्ध भएका छन्। रसुवा जाने सवारीसाधन फेदीबेसी चोक–हिरामुनिटार–चोगते–बोरे भञ्ज्याङ–सानो खोला–धनस्वारा हुँदै पाटिखर्क पुग्ने र फर्किँदा पाटिखर्क–लच्याङ–नर्जा–आप्र–बाहुनबेसी–चौघडा पुल हुँदै मध्यपहाडी राजमार्ग प्रयोग गर्न सकिने मन्त्रालयले जानकारी दिएको छ।

एकतर्फी रूपमा फरक–फरक सडक प्रयोग गर्ने व्यवस्था मिलाउँदा सवारी आवागमन सहज हुने र सडकमा हुने जामसमेत कम गर्न सहयोग पुग्ने मन्त्रालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *