तुइन खोलाको जोखिमपूर्ण ढिस्को भत्काउन ‘व्याक ह्याम्बर’ परिचालन
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा रहेको जोखिमपूर्ण ढिस्को भत्काउने काम तीव्र पारिएको छ। सडकमा सवारीसाधनको आवागमन आंशिक रूपमा रोकेर सोमबारदेखि सुरु गरिएको कामलाई मंगलबारदेखि ‘व्याक ह्याम्बर’ प्रयोग गरी थप प्रभावकारी बनाइएको हो।
डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार मंगलबार बिहानदेखि सडक बन्द हुने समयमा भिरबाट झर्न सक्ने अवस्थामा रहेका ढुङ्गा तथा ढिस्का हटाउन थालिएको छ। सोमबार दिनभर गलको सहायताले ढिस्का झारिएको थियो भने अब व्याक ह्याम्बर प्रयोग गरेर काम अघि बढाइनेछ।
जोखिमपूर्ण ढिस्को हटाउन हाल छ वटा व्याक ह्याम्बर परिचालन गरिएको छ। आवश्यकताअनुसार थप उपकरण परिचालन गर्न निर्माण व्यवसायीलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको घिमिरेले बताए।
अत्यन्त जोखिमपूर्ण मानिएको उक्त क्षेत्रमा प्राविधिक तथा मजदुरहरूले पेटीको सहायताले भिरमा झुन्डिएर समेत काम गरिरहेका छन्। डिभिजन सडक कार्यालयले पहिरोको जोखिम न्यूनीकरण गर्दै सडकलाई सुरक्षित बनाउने उद्देश्यले ढिस्को हटाउने तथा भिर संरक्षणको काम अघि बढाएको हो।
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरोका कारण सडक अवरुद्ध भएको समयलाई उपयोग गर्दै तुइन खोलामा सवारी आवागमन आंशिक रूपमा रोकेर काम भइरहेको छ।
स्थानीय प्रशासनले सोमबार बिहानदेखि नारायणगढ–मुग्लिन सडकखण्डमा निश्चित समयका लागि सवारी आवागमन रोक्दै पहिरो नियन्त्रणको काम अघि बढाएको छ। कार्यतालिकाअनुसार बिहान ८ः०० देखि ८ः३० बजेसम्म, १०ः३० देखि ११ः०० बजेसम्म, दिउँसो १ः०० देखि १ः३० बजेसम्म र ३ः३० देखि ४ः०० बजेसम्म सडकमा सवारी रोकिँदै आएको छ। साँझ ६ः०० बजेदेखि भोलिपल्ट बिहान ६ः०० बजेसम्म भने सडकमा सवारी आवागमन सुचारु रहने व्यवस्था गरिएको छ। तोकिएको समयबाहेक सडक रोकेर पहिरो नियन्त्रण तथा जोखिम न्यूनीकरणको काम गरिँदैछ।
गत वर्ष असोज ३ र ७ गते तुइन खोलामा ठूलो पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड करिब १०४ घण्टा अवरुद्ध भएको थियो। त्यसपछि उक्त क्षेत्रलाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा लिएर पहिरो नियन्त्रणको काम अघि बढाइएको हो।
इन्जिनियर घिमिरेका अनुसार अहिले खोलाको नारायणगढतर्फको भित्तोमा पहिरो नियन्त्रणको काम भइरहेको छ। उक्त जोखिमपूर्ण ढिस्को करिब १०५ मिटर अग्लो र १६५ मिटर लामो रहेको छ।
केही वर्षअघि सडक विस्तारका क्रममा काटिएको भित्तोमा गत वर्ष अचानक ठूलो पहिरो खसेपछि उक्त क्षेत्र थप जोखिममा परेको थियो। पहिलो चरणमा झर्न सक्ने अवस्थामा रहेका ढुङ्गा, माटो तथा अन्य सामग्री हटाएर भित्तो सफा गरिनेछ। त्यसपछि भित्तोमा रड ड्रिल गरी बाहिरी भागमा जाली लगाएर पहिरो नियन्त्रण गर्ने प्रविधि प्रयोग गरिनेछ। यसलाई ‘नेलिङ’ प्रविधि भनिन्छ।
डिभिजन सडक कार्यालयले तुइन खोलासहित जोखिमयुक्त क्षेत्रमा पहिरो नियन्त्रणका लागि रु २२ करोड २१ लाखको लागतमा काम अघि बढाएको छ। काम १० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सोही बजेटअन्तर्गत नाम्सी खोलाको मुग्लिनतर्फ रहेको डाँडामा पनि पहिरो नियन्त्रणको काम गर्नुपर्नेछ।
नारायणगढ–मुग्लिन सडकखण्डमा मध्यमदेखि उच्च जोखिमसम्मका ४३ वटा पहिरो सम्भावित क्षेत्र पहिचान गरिएको छ। तीमध्ये आठ स्थानलाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment