बाढी प्रभावित बालबालिकालाई अभिभावकत्व र शिक्षामा विशेष ध्यान दिन आग्रह
काठमाडौं। भोटेकोशी बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको अभिभावकत्व, उपचार तथा पुनर्जागरणलाई तत्काल प्राथमिकता दिन नेपाल राष्ट्रिय अभिभावक सङ्घले सरकारसँग जोडदार आग्रह गरेको छ।
सङ्घका केन्द्रीय अध्यक्ष कोषबहादुर जिसीले बाढीपहिरोका कारण परिवार तथा घरबार गुमाएका बालबालिकाको तत्काल व्यवस्थापन र शिक्षाको निरन्तरताका लागि राज्यले विशेष पहल गर्नुपर्ने बताए।
बाढीपछिको शैक्षिक अवस्थाबारे आयोजित पत्रकार सम्मेलनमा उनले अहिले विद्यालय सञ्चालनभन्दा पनि प्रभावित परिवारको गाँस, बास र उपचार पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिए।
अध्यक्ष जिसीले तत्काल पुनर्वास, उपचार र अभिभावकत्व जस्ता तीन विषयलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए। उनले भने, “अभिभावक गुमाएका बालबालिकालाई अभिभावकत्व प्रदान गर्नु पहिलो कर्तव्य हो। राज्य, स्थानीय तह वा निजी क्षेत्र जसले भए पनि उनीहरूलाई तुरुन्तै गार्जियनसिप (अभिभावकत्व) दिलाउने काम हुनुपर्छ।”
बाढी प्रभावित क्षेत्रमा पूर्वाधार नष्ट भएकाले विद्यालय र कलेज तत्काल सञ्चालन गर्न गाह्रो रहेको भन्दै उनले पहिला सुरक्षित बसोबास र स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नुपर्ने बताए। बाढीपछि रोगव्याधि फैलिन सक्ने जोखिम रहेकाले प्राथमिक उपचार, सरसफाइ र राहत वितरणको प्रभावकारी अनुगमन हुनुपर्नेमा सङ्घको जोड छ।
यस्तै, विपद्का कारण मानसिक रूपमा विक्षिप्त बनेका प्रभावितहरूका लागि सामाजिक मनोपरामर्शको खाँचो औँल्याउँदै उनले व्यक्तिकेन्द्रित परामर्श सेवा पुर्याउनुपर्ने बताए।
बाबुआमा गुमाएका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क शिक्षा र आवासको व्यवस्था गर्ने प्रदेश सरकारको घोषणालाई सङ्घले स्वागत गरेको छ। विपत्तिको यस घडीमा राजनीतिक विभाजनभन्दा माथि उठेर सबै नेपाली एक भई सहयोगमा जुट्नुपर्ने बताउँदै अध्यक्ष जिसीले स्थानीय तह र सरोकारवाला निकायहरूसँग सहकार्य गरेर सङ्घले सहजीकरण जारी राख्ने प्रतिबद्धता जनाए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment