भम्लु खोलामा सुख्खा पहिरो खस्दा कर्णाली राजमार्ग पुनः अवरुद्ध
कर्णाली। कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ। सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत दैलेखको दुल्लु नगरपालिका–१ स्थित भम्लु खोलामा गएराति माथिबाट सुख्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार पहिरोका कारण सडकमा यातायात सञ्चालन हुन नसक्दा यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्। सडक खुलाउन आज बिहान प्रहरी चौकी तल्लो डुङ्गेश्वरबाट प्रहरी टोली भम्लु खोलामा खटिएको छ।
सडक अवरोध हटाएर आवागमन जतिसक्दो छिटो सञ्चालन गर्ने उद्देश्यले सडक डिभिजन कार्यालय सुर्खेतसँग आवश्यक समन्वय गरी पहिरो पन्छाउने काम सुरु गरिएको प्रहरीले जनाएको छ।
सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार कर्णाली राजमार्गअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका–स्थित पिली, शुभकालिका गाउँपालिकाको गगने खोला र एस मोडमा खसेको पहिरोका कारण भदौ २० गतेदेखि राजमार्ग अवरुद्ध भएको थियो। ती स्थानमा पहिरो पन्छाएपछि मङ्गलबार दिउँसोदेखि सडक सञ्चालनमा आएको थियो।
तर दैलेखको भम्लु खोलामा पुनः सुख्खा पहिरो खसेपछि राजमार्गमा यातायात सेवा प्रभावित भएको हो।
कर्णाली राजमार्ग अवरुद्ध हुँदा हुम्ला, मुगु, जुम्ला र कालीकोटबाट सुर्खेत, नेपालगन्ज तथा काठमाडौं जाने यात्रुलाई सास्ती भएको छ। लामो दूरीको यात्रा गर्ने यात्रु तथा मालवाहक सवारीसाधनसमेत सडक खुल्ने प्रतीक्षामा रोकिएका छन्।
सडक डिभिजन कार्यालय र सुरक्षा निकायले पहिरो पन्छाएर राजमार्गलाई छिटोभन्दा छिटो सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment