भोटेकोशी बाढी: मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस्!

डिसी नेपाल
२५ भदौ २०८३ ६:३३

महोत्तरी। भोटेकोशीको बाढी धेरै साम्य भयो तर त्यसले दिएको पीडा झन् बढ्दो छ। बाढीका कारण सम्पर्कविहीन भएकाहरूको परिवारमा रुवावासी र छट्पटी छ। घटनाको दुई साता बित्दासमेत सम्पर्कविहीन भएकाको कुनै नयाँ सूचना नआएपछि महोत्तरीका १० घरपरिवारमा अहिले सन्नाटा छ।

“हे भगवान्, जे सजाय दिनुछ, मलाई देऊ! गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस्,” सम्पर्कविहीन पतिका बारेमा कुनै जानकारी प्राप्त नहुँदा विचलित बनेकी महोत्तरीको पिपरा-३ की इन्दिरा यादव जतिखेर पनि यस्तै पुकारा गरिरहन्छिन्।

छ महिनाको गर्भ हुर्काइरहेकी इन्दिराका पति विकासकुमार यादव यही भदौ १० गतेको भोटेकोशी बाढीका दिन आफू कार्यरत त्रिशुली-३ ‘ए’ जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन भएका हुन्।

“म अब काममा जान्छु, तिमी ढोका लगाएर बस भनेर काममा जानुभएको थियो,” घटनाको दिन सम्झँदै इन्दिरा भन्छिन्, “क्वाटरबाट १० मिनेटजति लाग्ने दूरी हो, फेरि मलाई ढोका खोल भन्न आउनुभएन।” कार्यरत स्थानमा आवास सुविधा भएपछि विकासले पत्नी र छोरीलाई सँगै लैजानुभएको थियो।

“कामबाट फुर्सद भयो कि फोन गर्नुहुन्थ्यो, अहिले उहाँको एक वचन सुन्न मन तड्पिरहेछ,” हाल पिपरा-३ स्थित घरमा रहेकी इन्दिरा विलाप गर्दै भन्छिन्, “न छोरीले राम्रोसँग बोलाएकी छ अहिलेसम्म, न यो गर्भको बच्चाले बाबु चिन्न पाउने भयो। हे भगवान्! गर्भे बच्चालाई न्याय गर।”

आवासगृहका सुरक्षागार्डले माथिबाट ठूलो बाढी आउँदैछ, डाँडातिर चढ्नुस् भनेपछि छोरी काखमा च्यापेर हस्याङफस्याङ हुँदै थुम्कोमा पुगेर तलतिर हेर्दा आयोजना परिसर बाढीले ढाकेको इन्दिरालाई सम्झना छ। “क्वाटरमा भएका हामी निस्क्यौँ, उहाँ पनि कतै निस्कनुभयो होला भन्ने आसमा पर्खेँ तर न फोन आयो, न मैले गर्दा लाग्यो,” इन्दिरा भक्कानिँदै भन्छिन्, “साँझसम्म उहाँको कुनै अत्तोपत्तो नभएपछि तल झरेर खोजी गरेँ तर केही पाइएन।” त्यसपछि इन्दिरा र छोरीलाई सेनाले काठमाडौँ ल्याइदिएको र त्यहाँबाट उनका दाजुले घर ल्याएका हुन्।

विकास सम्पर्कविहीन भएको खबर फैलिएसँगै अहिले इष्टमित्र र आफन्तजन उनको घरमा पुरिरहेका छन्। कोही नयाँ मान्छे घर आयो कि विकासको खबर आयो कि भन्ने परिवारजनलाई पर्छ। दुई साता नाघ्दासम्म कुनै थप खबर नपाउँदा परिवार पूरै विचलित बनेको छ।

केही महिना पहिलेमात्र पाठेघरको शल्यक्रिया गराइएकी आमा बिनादेवी यादव इन्तु न चिन्तु भएर लडेकी छन्। छिनछिनमा ‘मेरो विकास बाबु आयौ’ भन्दै बर्बराउने बिनाका आँखामा आँसु सिद्धिएर डिल सुन्निएका छन्। पिता शम्भुनाथ र भाइ सुवासको अवस्था पनि उस्तै छ।

“हामीले आफ्नोतर्फबाट पनि निकै खोजी गर्‍यौँ, दाजुको केही पत्ता लागेन,” बर्बरी आँसु झार्दै भाइ सुवास भन्छन्, “आमा र भाउजूलाई के गरी सम्हाल्ने होला?” अवकाश प्राप्त शिक्षक शम्भुनाथ पत्नी बिना र बुहारी इन्दिराका अगाडि ‘बाबु आउँछ’ भन्ने गरे पनि लुकेर गह भिजाउँदै आफ्नो पीडा व्यक्त गर्छन्।

“अब छोरा काममा लाग्यो, हाम्रा दुःखका दिन गए भनेर दंग पर्थेँ, परमात्मालाई हाम्रो खुसी मञ्जुर रहेनछ, यो बुढेसकालमा विलाप गर्नु परेको छ,” शम्भुनाथ भन्छन्, “बुबा, अब तपाईं दुःख नगर्नुहोस् भन्थ्यो, अहिले रुवाइरहेको छ।”

विकास पढाइमा सधैँ अब्बल रहेको र आफ्नो कक्षामा कहिल्यै दोस्रो नभएको शम्भुनाथ बताउँछन्। “खै यो उमेरमा के भोग्न लेखेको रहेछ,” शम्भुनाथ छोरा सम्झँदै भन्छन्।

भोटेकोशी बाढीले विकासको जस्तै महोत्तरीका १० घरमा विलाप सुनिन्छ। यहाँका १० जना रसुवा र नुवाकोटबाट सम्पर्कविहीन भएका छन्। बाढीमा परी मधेस प्रदेशका १७८ जना सम्पर्कविहीन भएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ। यस्तै, तीन जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

दिन बित्दै गएपछि परिवारजनमा आफ्ना मान्छे सकुशल भेटिने हो होइन भन्ने द्विविधा बढेको छ। सम्पर्कविहीनको खोजी गरी जेजस्तो अवस्था भए पनि आफूहरूले देख्न पाऊँ भन्ने परिवारजन सरकार र खोज उद्धारकर्तासँग अनुनय विनय गर्दैछन्। आफ्ना मान्छे सकुशल भेटिएको चमत्कारिक खबरको पर्खाइमा उनीहरूको विलौना सुनिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *