तीजमा तडकभडक र निर्जला व्रतभन्दा स्वास्थ्य, आत्मीयता र व्यक्तिगत रोजाइलाई प्राथमिकता

काठमाडौं।  हरितालिका तीजमा श्रीमान्‌को दीर्घायुको कामना गर्दै व्रत बस्ने परम्परा रहँदै आए तापनि पछिल्लो समय यसका विविध पक्षबारे बहस सुरु भएको छ।

एक दिन भोकै बस्दैमा श्रीमान्‌को आयु लामो नहुने तर्क गर्दै महिलाहरूले पेट भोकै राख्नुको साटो स्वास्थ्यकर खानेकुरा दिने, बिरामी पर्दा स्याहारसुसार गर्ने तथा आपसमा माया र सहयोग कायम राख्नुपर्नेमा जोड दिएका छन्।

उनीहरूका अनुसार तीज परम्परा र संस्कृतिको पर्व भए पनि यसलाई अन्धविश्वास वा बाध्यताका रूपमा लिनुभन्दा आफ्नो स्वास्थ्य, इच्छा र सहजतालाई प्राथमिकता दिनुपर्छ।

अभिनेत्री स्वइच्छा पौडेल श्रीमान्‌प्रतिको माया र हेरचाह वास्तविक हुनुपर्ने बताउँछिन्। बिरामी वा अप्ठ्यारो परेका बेला गरिने सच्चा स्याहारले नै सम्बन्ध र जीवनलाई बलियो बनाउने उनको धारणा छ। “श्रीमान्‌प्रतिको माया र हेरचाह वास्तविक हुनुपर्छ, एक दिन भोकै व्रत बस्दैमा मात्र आयु बढ्ने होइन,” उनले भनिन्।

तीजमा झपक्क गहना लगाएर र महँगा पहिरनमा सजिएर मात्रै पर्व मनाउनुपर्छ भन्ने धारणा पनि गलत रहेको उनीहरूको भनाइ छ। गहना र पहिरन व्यक्तिगत रोजाइ भएकाले आफूसँग क्षमता छ र मन लाग्छ भने लगाउनु स्वाभाविक भए पनि अरूको देखासिकी गर्नु नहुनेमा महिलाहरू स्पष्ट छन्।

श्रद्धा श्रेष्ठका अनुसार महिलाको व्यक्तित्व, पहिचान र आत्मविश्वास गहनाले निर्धारण गर्दैन। “आफ्नो क्षमता जे छ, त्यसैमा रमाउन सिक्नु नै सबैभन्दा ठूलो कुरा हो।

गहना लगाएरै खुसी मिल्छ भने त्यो व्यक्तिगत रोजाइ हो र त्यसमा रमाउन पाउनुपर्छ। तर अरूले लगाए भन्दैमा आफूले पनि देखासिकी गरेर लगाउनैपर्छ भन्ने सोच अब बदल्नुपर्छ,” उनले भनिन्।

यस्तै अभिनेत्री ऋचा शर्मा तीजलाई महिलाहरू एकै ठाउँमा भेला भई खुसी साटासाट गर्ने, गाउने-नाच्ने र व्यस्त दैनिकीबाट केही समय विश्राम लिने अवसरका रूपमा व्याख्या गर्छिन्।

धार्मिक तथा सांस्कृतिक परम्परा आफ्नो ठाउँमा महत्त्वपूर्ण भए पनि कसैलाई सजिन मन पर्छ भने आफ्नो इच्छाअनुसार रमाउन पाउनुपर्ने र मन नपर्नेको रोजाइलाई पनि सम्मान गर्नुपर्ने उनको भनाइ छ।

“तीज महिलाहरू एकै ठाउँमा भेला हुने, खुसी साटासाट गर्ने र परम्परालाई जोगाउने उत्कृष्ट अवसर हो,” ऋचाले भनिन्, “हरेक व्यक्तिको आफ्नो धारणा र रोजाइ हुन्छ। कसैलाई यो पर्व मनाउन वा सजिन मन पर्छ भने रमाउनुपर्छ, मन पर्दैन भने त्यो उहाँहरूको व्यक्तिगत विचार हो, त्यसलाई पनि सम्मान गर्नुपर्छ।”

मुस्लिम समुदायकी असिवन बेगुम धर्म फरक भए पनि नेपाली समाजको विविधतामा एकताको भावनालाई आत्मसात् गर्दै सबै नेपाली चाडपर्व र परम्परालाई सम्मान गर्ने बताउँछिन्।

उनले गायिका सुनिता दुलालको तीज गीतमा रातो साडी र रातो चुरा लगाएर अभिनय गरेको स्मरण गर्दै नेपाली संस्कृतिप्रति आफ्नो गहिरो अपनत्व रहेको व्यक्त गरिन्।

“मैले भर्खरै मात्र सुनिता दुलालको तीज गीतमा अभिनय गरेर आएकी छु। रातो साडी र रातो चुरा लगाएर छमछमी नाचेकी पनि छु,” उनले भनिन्, “म हरेक नेपालीले मनाउने चाडपर्व र परम्परालाई उत्तिकै सम्मान र आत्मसात् गर्छु।”

तीजको वास्तविक खुसी गहना, महँगा पहिरन वा देखासिकीमा नभई आफ्नै क्षमता, इच्छा, स्वास्थ्य, आत्मीयता र आत्मविश्वासमा निहित हुनुपर्छ भन्नेमा उनीहरूको साझा मत छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *