कृष्णभीर पहिरो: परीक्षणका रूपमा दुवैतर्फबाट गाडी छाडियो
काठमाडाैं। नागढुंगा-मुग्लिन सडकखण्डअन्तर्गत धादिङको कृष्णभीरमा खसेको पहिरो हटाई यातायात पुनः सञ्चालन गर्ने प्रयास स्वरूप परीक्षण सुरु गरिएको छ।
सडक विभाग, सुरक्षा निकाय र स्थानीय प्रशासनको संयुक्त टोलीले पहिरो पन्छ्याएर तयार पारिएको ट्र्याकबाट गाडी पास गराउन थालेको हो।
यसै क्रममा काठमाडौँबाट चितवनतर्फ एउटा ग्यास बुलेट सवारीसाधनसहित करिब २० वटा साना-ठूला गाडी पास गराइएको छ भने चितवनबाट काठमाडौँतर्फ एउटा भारी सवारी साधनसमेत सफलतापूर्वक पार गराइएको छ।
अहिले पहिरो प्रभावित क्षेत्रमा एकतर्फी रूपमा मात्रै यातायात सहज बनाउन सकिएकाले दुवैतर्फ यात्रु र सवारीसाधनको चाप छ।
पहिरोको जोखिम अझै पूर्ण रूपमा नटरेकाले सुरक्षा सतर्कता अपनाउँदै सडकलाई द्वितर्फी रूपमै पूर्ण सञ्चालनमा ल्याउन भारी उपकरण प्रयोग गरी बाँकी लेदो र ढुङ्गा हटाउने कार्य तीव्र गतिमा जारी राखिएको छ।
मौसम अनुकूल रहेमा छिट्टै सडक सामान्य अवस्थामा फर्किने प्राविधिक टोलीले जनाएको छ।
सडक खुलाउन विभिन्न निकाय र संयन्त्र परिचालन गरेर काम भइरहेको छ। कृष्णभीरमा सडकको ग्रेड मिलाउने काम तीव्र पारिएको छ। दुईवटा बुलडोजर प्रयोग गरेर सडक सम्याउने तथा आवागमनका लागि आवश्यक प्लाटफर्म तयार गर्ने काम भइरहेको छ।
सडकको ग्राभेलिङ र कम्प्याक्सनको काम भने अझै बाँकी छ। यद्यपि तत्कालका लागि अड्किएका ग्यास बुलेट तथा हेभी इक्युपमेन्ट बोकेका सवारीसाधनलाई मात्र आवतजावत गराउन सकिने गरी सडक तयार पार्ने प्रयास भइरहेको छ। आयोजनाका अनुसार मौसमले साथ दिएमा आजै आंशिक रूपमा ग्यास बुलेट र हेभी इक्युपमेन्ट बोकेका सवारीसाधन सञ्चालन गर्न सकिनेछ।
त्यसअघि खाली ग्यास बुलेट गुडाएर सडकको भारवहन क्षमता र आवागमनको अवस्था परीक्षण गरिनेछ। कृष्णभीरमा सडक चिल्लो र सम्याइएको देखिए पनि पूर्ण रूपमा सञ्चालनयोग्य बनाउन ग्राभेलिङ र कम्प्याक्सनलगायतका काम पूरा गर्नुपर्ने अवस्था छ।
सडक खुलाउन अहिले दुईवटा बुलडोजरले लगातार काम गरिरहेका छन्। गत भदौ १० गते आएको त्रिशूली बाढीका कारण कृष्णभीरको सडक कटान हुँदा सडक अवरुद्ध छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment