पशुपतिमा तीजको रौनक : पूजा आराधनासँगै नाचगानमा रमाउँदै व्रतालु महिला (तस्बिरसहित)

डिसी नेपाल
२९ भदौ २०८३ ८:४०

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व आज हिन्दु नारीहरूले श्रद्धा र भक्तिपूर्वक मनाइरहेका छन्। तीजको अवसरमा देशभरका शिवालयहरूमा बिहानैदेखि दर्शनार्थी तथा व्रतालु महिलाहरूको भीड लागेको छ।

काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा पनि तीजको विशेष रौनक देखिएको छ। बिहानैदेखि पशुपति क्षेत्रमा पुगेका व्रतालु महिलाहरूले भगवान् शिव र माता पार्वतीको पूजा आराधना गर्दै तीज पर्व मनाइरहेका छन्। महिलाहरू रातो पहिरनमा सजिएर मन्दिर परिसरमा भेला भएका छन् भने पूजा आराधनासँगै नाचगान गरेर रमाइलो गरिरहेका छन्।

तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई सहज बनाउन मन्दिरका चारवटै ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको छ। बिहानैदेखि मन्दिरमा दर्शनार्थीको चाप बढेको छ।

तीज पर्वमा विवाहित महिलाहरूले श्रीमान्को दीर्घायु, सुख, शान्ति तथा पारिवारिक समृद्धिको कामना गर्दै व्रत बस्ने धार्मिक परम्परा छ। अविवाहित महिलाहरूले पनि असल पति प्राप्तिको कामना गर्दै व्रत बस्ने तथा शिव–पार्वतीको पूजा गर्ने चलन रहिआएको छ।

तीजको अवसरमा महिलाहरूले एकआपसमा शुभकामना आदानप्रदान गर्दै नाचगान र सांस्कृतिक गतिविधिमार्फत पर्वको उल्लास मनाइरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *