हरितालिका तीजको धार्मिक र सामाजिक महत्त्व: स्वास्थ्य सुहाउँदो व्रत र मौलिकता संरक्षणमा जोड
काठमाडौं। हिन्दू धर्मावलम्बी महिलाहरूले विशेष श्रद्धा र उत्साहका साथ मनाउने हरितालिका तीज धार्मिक आस्था, पारिवारिक सुख-शान्ति र सामाजिक संस्कृतिसँग जोडिएको विशेष पर्व हो।
भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजमा विवाहित महिलाले पतिको दीर्घायु, सुस्वास्थ्य तथा परिवारको सुख-समृद्धिको कामना गर्दै व्रत बस्ने गर्छन्। अविवाहित महिलाले भने मन परेको योग्य जीवनसाथी प्राप्तिको कामना गर्दै तीजको व्रत बस्ने धार्मिक मान्यता रहिआएको छ।
ज्योतिष पण्डित मुकुन्द नेपालका अनुसार हरितालिका तीजको धार्मिक सम्बन्ध भगवान् शिव र माता पार्वतीको प्रसङ्गसँग जोडिएको छ। माता पार्वतीले भगवान् शिवलाई पतिको रूपमा प्राप्त गर्न लामो समय कठोर तपस्या गर्नुभएको धार्मिक कथन छ। उहाँको त्यही तपस्या र शिवप्रतिको अनन्य समर्पणको स्मरण गर्दै तीजमा महिलाहरूले भगवान् शिवको आराधना र उपासना गर्ने परम्परा बसेको हो।
नेपालका अनुसार तीज महिलामा मात्र सीमित पर्व भने होइन। पुरुषले पनि आफ्नो जीवनसाथी तथा परिवारको सुख, शान्ति र समृद्धिका लागि प्रार्थना तथा साधना गर्न सक्छन्। यद्यपि माता पार्वतीसँगको धार्मिक सम्बन्धका कारण महिलाका लागि तीजको विशेष महत्त्व स्थापित भएको हो।
दरदेखि ऋषिपञ्चमीसम्मको धार्मिक शृङ्खला
हरितालिका तीजको धार्मिक प्रक्रिया मुख्यतः द्वितीयादेखि पञ्चमीसम्म जोडिन्छ। तीजको अघिल्लो दिन अर्थात् भाद्र शुक्ल द्वितीयामा ‘दर’ खाने परम्परा छ। परम्पराअनुसार महिलाहरूले राति १२ बज्नुअघि विभिन्न परिकार तथा मिष्ठान्न ग्रहण गर्छन् र त्यसको भोलिपल्ट तृतीयाका दिन निराहार व्रत बस्छन्।
तर पछिल्लो समय तीजको दर खाने परम्परा महिनौँअघिदेखि विभिन्न कार्यक्रमका नाममा मनाउने प्रवृत्ति बढेको छ। पण्डित नेपाल यसलाई परम्पराको मौलिक भावनाभन्दा फरक हुँदै गएको विकृतिका रूपमा लिनुपर्ने बताउँछन्।
उनका अनुसार व्रत केवल खानपान त्याग्ने कर्म मात्र होइन, यो त आत्मसंयम, साधना र उचा उपासनासँग जोडिएको अभ्यास हो। निस्वार्थ भावले भगवानको आराधना गर्ने र आफूभित्र सकारात्मक भाव विकास गर्ने विषयलाई व्रतसँग जोड्नुपर्ने उनको तर्क छ।
स्वास्थ्यलाई ध्यान दिएर व्रत बस्न सुझाव
तीजको व्रत धार्मिक आस्थासँग जोडिए पनि स्वास्थ्यलाई बेवास्ता गर्न नहुने पण्डित नेपालको सुझाव छ। शारीरिक रूपमा कमजोर वा बिरामी व्यक्तिले अनिवार्य रूपमा निराहार व्रत नै बस्नुपर्ने धार्मिक बाध्यता नरहेको उनी बताउँछन्।
‘शरीरमाद्यं खलु धर्मसाधनम्’ अर्थात् शरीर नै धर्मसाधनाको पहिलो माध्यम भएकाले शरीरलाई नै जोखिममा पारेर गरिने साधनाको औचित्य नरहने उनको भनाइ छ। आफ्नो स्वास्थ्य स्थितिअनुसार निराहार, फलाहार वा जलाहारमध्ये उपयुक्त विधि अपनाएर व्रत बस्न सकिने उनी बताउँछन्।
ऋषिपञ्चमी र गणेश चतुर्थीको मान्यता
हरितालिका तीजसँगै भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमीको पनि विशेष धार्मिक महत्त्व छ। यस दिन महिलाहरूले पवित्र स्नान गरी सप्तऋषिको पूजा-आराधना गर्छन्। रजस्वलासँग सम्बन्धित धार्मिक दोषबाट मुक्ति पाउने उद्देश्यले ऋषिपञ्चमीको व्रत तथा पूजा गर्ने शास्त्रीय मान्यता छ।
त्यसैगरी तीजकै क्रममा भाद्र शुक्ल चतुर्थीका दिन मङ्गल चौथी (गणेश चतुर्थी) मनाउने परम्परा छ। यस दिन चन्द्रमाको दर्शन गरेमा चोरीको झुटो आरोप लाग्ने धार्मिक विश्वास रहेकाले कतिपय समुदायमा चन्द्रदर्शन नगर्ने चलन अझै कायम छ।
देशदेखि विदेशसम्म फैलिँदो तीजको रौनक
नेपालमा तीज धार्मिक पर्वका रूपमा मात्र नभई महिलाहरूको सामाजिक भेटघाट, माइती-घरको सम्बन्ध, दुःख-सुख साटासाट र सांस्कृतिक अभिव्यक्तिको उत्कृष्ट अवसरका रूपमा स्थापित छ। तीजका गीत, नृत्य, पूजा, व्रत र दर खाने परम्पराले यसलाई नेपाली समाजको महत्त्वपूर्ण सांस्कृतिक पहिचान बनाएको छ।
पछिल्लो समय रोजगारी तथा अध्ययनका क्रममा विश्वका विभिन्न मुलुकमा पुगेका नेपाली महिलाहरूले पनि आफ्नो अनुकूलताअनुसार पूजा, व्रत, सांस्कृतिक कार्यक्रम र भेटघाटमार्फत तीज मनाउने गरेका छन्।
तर तीज मनाउने क्रममा देखिने भड्किलोपन, अनावश्यक तडकभडक र लामो समयसम्म चल्ने भड्किला भोजहरूले पर्वको मौलिक, धार्मिक तथा सांस्कृतिक पक्ष ओझेलमा पर्न सक्ने चिन्ता पनि व्यक्त भइरहेको छ। पण्डित नेपालले पनि सम्पूर्ण मातृशक्तिलाई हरितालिका तीजको शुभकामना दिँदै आफ्नो स्वास्थ्य र परिस्थितिलाई ध्यानमा राखेर शिव-पार्वतीको आराधना गर्न आग्रह गर्नुभएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment