पशुपतिनाथमा तीजको रौनकसँगै पूजाआजा सहज, पुरुषको उपस्थिति कम हुँदा व्रतालु महिलाहरूलाई राहत

डिसी नेपाल
२९ भदौ २०८३ १२:५३

काठमाडौं।  हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज देशभर श्रद्धा र उल्लासका साथ मनाइएको छ।

तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा बिहानैदेखि व्रतालु भक्तजनहरूको ठूलो भीड लागेको थियो। दर्शनार्थीको सुविधालाई ध्यानमा राख्दै पशुपतिका चारै वटा ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको थियो।

यस वर्ष पशुपतिनाथमा पूजा तथा दर्शनको व्यवस्थापन विगतका वर्षहरूको तुलनामा निकै सहज र व्यवस्थित रहेको व्रतालुहरूले बताएका छन्। व्रतालु लिला कडायतका अनुसार विगतमा घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता भए पनि यसपालि १५ मिनेटमै मन्दिर प्रवेश गरी पूजाआजा सम्पन्न गर्न सकिएको थियो।

विगतमा पुरुष भक्तजनको समेत उपस्थिति रहने गरेकामा यसपालि पशुपति परिसरमा महिलालाई मात्र प्राथमिकता दिइएकाले पनि दर्शन प्रक्रिया छिटो र सहज भएको उनको भनाइ छ।

सुरक्षा र शान्ति सुव्यवस्थापन प्रभावकारी भएकामा दर्शनार्थीहरूले खुसी व्यक्त गरेका छन्। पशुपति पुगेकी अर्की व्रतालु जानुका पौडेलले सामान्य दिनको तुलनामा तीजका अवसरमा महिलाहरूलाई विशेष प्राथमिकता दिइएको र सुरक्षा व्यवस्था पनि चुस्त राखिएकाले पूजाआजा गर्न सहज भएको जानकारी दिइन्।

यसैबीच, दर्शनका लागि पुगेकी व्रतालु मेनुका कोइरालाले तीजको धार्मिक तथा सांस्कृतिक परम्परा पछिल्लो समय बदलिँदै गएको प्रति चिन्ता व्यक्त गरिन्।

पुर्खादेखि चलिआएको परम्परालाई आफ्नो क्षमताअनुसार निरन्तरता दिए पनि तीजका नाममा पछिल्लो समय देखिने कतिपय भड्किला गतिविधि र बदलिँदो संस्कारले मौलिक धार्मिक मान्यतालाई असर पुर्‍याएको उनको भनाइ छ।

महिलाहरूले एकाबिहानै स्नान गरी दिनभर निराहार व्रत बसेर भगवान् शिव र माता पार्वतीको पूजा-आराधना गरेका छन्। व्रतालुहरूले पतिको सुस्वास्थ्य, दीर्घायु, पारिवारिक सुख-समृद्धि तथा पितृको कल्याणको कामना गर्दै मन्दिर परिसरमा नाचगान र पूजापाठ गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *