भोटेकोशी बाढी: ६५ पहिचानविहीन शवको कोड नम्बरसहित वैज्ञानिक व्यवस्थापन

डिसी नेपाल
२९ भदौ २०८३ १९:५७

नुवाकोट। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा पहिचान हुन नसकेका ६५ जना व्यक्तिका शवको नुवाकोटको विदुर नगरपालिका-६ स्थित खम्पाक्याम्पमा वैज्ञानिक विधिबाट व्यवस्थापन गरिएको छ।

रसुवाका विभिन्न स्थानबाट संकलन गरिएका ६३ र नुवाकोटबाट प्राप्त दुई गरी ६५ शवको व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख, प्रहरी उपरीक्षक बिपीन रेग्मीले जानकारी दिए।

यसअघि पहिचान नभएका शवहरूलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौँ पठाउने गरिएकोमा त्यहाँ स्थान अभाव भएपछि ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ अनुसार जिल्लामै व्यवस्थापन गरिएको उनले बताए।

प्रहरी उपरीक्षक रेग्मीका अनुसार अन्तर्राष्ट्रिय रेडक्रस समिति (आइसीआरसी) को मापदण्डबमोजिम डिएनए परीक्षणका लागि नमूना सङ्कलन गरी भविष्यमा आफन्तको पहिचान भएमा सहजै हस्तान्तरण गर्न सकिने गरी अत्यन्त व्यवस्थित र वैज्ञानिक ढङ्गले शवहरू पुरिएको छ।

“खाडलमा राख्नुअघि प्रत्येक शवको डिएनए परीक्षणका लागि नमुना लिइएको छ। शवहरूलाई निश्चित दूरीमा विशेष प्रकारको ब्यागभित्र संकेत नम्बरसहित राखिएको छ,” प्रहरी उपरीक्षक रेग्मीले भने, “भविष्यमा डिएनए मेल खाई शव निकाल्नु परेमा सहज होस् भनेर कङ्क्रिटको ढलानमा संकेत नम्बर राख्नुका साथै जीपीएस नक्सांकन समेत गरिएको छ।”

गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म नुवाकोटमा २०२ र रसुवामा १८६ गरी कुल ३०८८ वटा शव फेला परेका छन्। त्यसमध्ये रसुवामा १० र नुवाकोटमा १८ जनाको मात्र पहिचान भई आफन्तले बुझेका छन् भने अन्य शवहरू यसअघि काठमाडौँ पठाइएको थियो।

अहिले काठमाडौँमा स्थान अभाव भएपछि खम्पाक्याम्पस्थित केन्द्रीय कारागार र फोहरको डम्पिङ क्षेत्र नजिकैको सुरक्षित स्थानमा ६५ वटा शवको अन्तिम व्यवस्थापन गरिएको हो। भविष्यमा डिएनए परीक्षणबाट पहिचान खुलेमा परिवारलाई शव हस्तान्तरण गर्न कुनै कानुनी र प्राविधिक कठिनाइ नहुने प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *