रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति

डिसी नेपाल
२९ भदौ २०८३ २०:१३

काठमाडौं। भोटेकोशी नदीमा यही भदौ १० गते गएको विनाशकारी बाढीका कारण रसुवाका विभिन्न स्थानमा सञ्चालित १३ वटा खानेपानी तथा सरसफाइ आयोजनामा पूर्ण तथा आंशिक रूपमा क्षति पुगेको छ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीका कारण ती १३ आयोजनामा कम्तीमा रु २५ करोड २५ लाख बराबरको क्षति भएको छ। बाढीबाट एक हजार ६२३ जना नागरिक सुरक्षित खानेपानी सुविधाबाट प्रत्यक्ष प्रभावित भएका छन्।

विभागका महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढीले विशेषगरी गोसाइँकुण्ड र उत्तरगया गाउँपालिकाका खानेपानी आयोजनामा ठूलो क्षति पुर्‍याएको छ। अधिकांश आयोजना पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने केही आयोजनाका मूललाइन, शाखा पाइपलाइन तथा खानेपानीका धारासमेत बाढीले बगाएको छ।

उनका अनुसार गोसाइिँकुण्ड गाउँपालिकाका वडा नं. १, २ र ५ मा रहेका खानेपानी आयोजना पूर्णरूपमा क्षति भएका छन्। ती आयोजनामा भएको क्षतिका कारण मात्रै करिब ९०० भन्दा बढी नागरिक खानेपानी सेवाबाट वञ्चित भएका छन्। त्यसैगरी उत्तरगया गाउँपालिकाका वडा नं. ३ र ४ मा सञ्चालित खानेपानी आयोजनामा बाढीले पूर्णरूपमा क्षति पुर्‍याएको विभागले जनाएको छ।

कैदलटार, सिम्ले मुहान र बाँसथलसिमलगायतका आयोजनामा मुख्य तथा शाखा पाइपलाइन र खानेपानीका धारामा क्षति पुगेको छ। बाढीबाट क्षतिग्रस्त आयोजनाको पुनःनिर्माण तथा खानेपानी सेवा सुचारु गर्न आवश्यक प्रक्रिया अघि बढाइने महानिर्देशक श्रेष्ठले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *