भोटेकोशी बाढीमा क्षति पुगेका ५३ झोलुंगे पुल मर्मत र पुनःनिर्माण प्रक्रिया तीव्र

डिसी नेपाल
३० भदौ २०८३ १०:१५

काठमाडाैं। भदाै १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण त्रिशूली नदी आसपासका क्षेत्रमा रहेका झोलुङ्गे पुलमा ठूलो क्षति पुगेपछि टुटेको स्थानीयवासीको वारिपारिको सम्बन्ध जोड्न सरकारले पुल मर्मत तथा पुनःनिर्माणको काम अघि बढाएको छ।

बाढीले नुवाकोट र धादिङका विभिन्न स्थानमा त्रिशूली नदीमाथि रहेका झोलुङ्गे पुलहरूमा क्षति पुर्‍याएपछि स्थानीयको दैनिक आवतजावत, बजार, विद्यालय तथा स्वास्थ्य संस्थासम्मको पहुँच पूर्ण रूपमा प्रभावित भएको छ।

अहिले नुवाकोटको केउरेनी बजार, तारुकाघाट लगायतका क्षेत्रमा पुल मर्मतको काम सुरु भइसकेको छ। पुल नहुँदा स्थानीय बासिन्दा लामो दूरीको वैकल्पिक बाटो प्रयोग गर्न, दैनिक उपभोग्य सामग्री खरिद गर्न र कृषि उत्पादन ओसारपसार गर्न कठिनाइ भोग्न बाध्य छन्।

सरकारका अनुसार मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटामा बाढीले क्षति पुर्‍याएको प्रारम्भिक मूल्यांकनले देखाएको छ।

स्थलगत निरीक्षणपछि सरकारी अधिकारीहरूले क्षति पुगेका ५३ पुलमध्ये २० वटा मर्मत गर्नुपर्ने र बाँकी ३३ वटा पूर्ण रूपमा पुनःनिर्माण गर्नुपर्ने निष्कर्ष निकालेका थिए। सोहीअनुसार सरकारले भदौ १७ गते नै मर्मतका लागि कार्यादेश जारी गरिसकेको छ।

हाल महेश दोभान-मास्टार, कालिकाथान, मलिङ्गा-मझुवाटार, केउरेनी-गहते र पिमलटार–जागराम खोला झोलुङ्गे पुलको मर्मत कार्य तीव्र गतिमा अघि बढिरहेको र यी पाँचै पुलको काम एक महिनाभित्र सकिने लक्ष्य राखिएको छ।

यस्तै, पुनःनिर्माण गर्नुपर्ने ३३ वटा झोलुङ्गे पुलका लागिसमेत भदौ १७ गते नै बोलपत्र आह्वान भइसकेको छ।

बाढीले सडक, जलविद्युत् आयोजना र नदी तटीय बस्तीमा समेत ठूलो क्षति पुर्‍याएको अवस्थामा ग्रामीण बस्ती र बजार क्षेत्र जोड्ने प्रमुख आधार रहेका यी पुलहरूको शीघ्र मर्मत तथा पुनःनिर्माणले प्रभावित क्षेत्रको जनजीवन छिट्टै सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *