सडकका खाल्डाखाल्डीको गुनासो अब एपबाटै, ‘सडक सुझाव’ सञ्चालनमा

डिसी नेपाल
१ असोज २०८३ १३:०४

काठमाडौं।काठमाडौं उपत्यकाभित्र बिग्रिएका संघीय सडकको मर्मत सम्बन्धी गुनासो र सुझाव दर्ता गर्न सडक डिभिजन काठमाडौंले ‘सडक सुझाव एप’ औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

सफल परीक्षणपछि सञ्चालनमा ल्याइएको यो एपमार्फत अब उपत्यकावासीले सडकका खाल्डाखाल्डी तथा बिग्रिएका खण्डको मर्मतका लागि सोझै आफ्नो मोबाइलबाटै दर्ता गराउन सक्नेछन्।

एपमा दर्ता गरिएको गुनासोमाथि भइरहेको सम्बोधन र मर्मतको प्रगति विवरण नागरिकले प्रत्यक्ष रूपमा ट्र्याक गर्न पाउने व्यवस्था गरिएको छ। काम सम्पन्न भएपछि त्यसको जानकारी पनि एपमार्फत नै प्राप्त हुनेछ।

हाललाई काठमाडौँ उपत्यकाभित्रका करिब ४७२ किलोमिटर संघीय सडक यस प्रणालीमा समेटिएका छन्। यदि नागरिकले दर्ता गरेको सडक स्थान संघीय मातहत नपरी अन्य कुनै निकायको जिम्मेवारीमा पर्छ भने सो सडक कुन कार्यालयको हो भन्ने सूचनासमेत एपले नै उपलब्ध गराउनेछ।

सडक मर्मत तथा गुनासो व्यवस्थापनलाई प्रविधिमैत्री र पारदर्शी बनाउने उद्देश्यले सुरु गरिएको यो सेवालाई आगामी दुई हप्ताभित्र ललितपुर र भक्तपुरमा विस्तार गर्ने र त्यसपछि क्रमशः देशभर लैजाने सडक डिभिजन काठमाडौँको योजना रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *