अर्थमन्त्री डा. वाग्ले भारत भ्रमणमा: द्विपक्षीय आर्थिक सम्बन्ध, व्यापार र बाढीपछिको पुनर्निर्माणमा केन्द्रित छलफल

डिसी नेपाल
२ असोज २०८३ १४:२४

नयाँदिल्ली। नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका क्रममा छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। अर्थमन्त्रीको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो औपचारिक भारत भ्रमण हो।

भ्रमणका क्रममा बिहीबार अर्थमन्त्री डा. वाग्लेले भारतीय समकक्षी निर्मला सीतारमणसँग उच्चस्तरीय भेटवार्ता गरेका छन्। नयाँ दिल्लीमा भएको उक्त भेटमा भारतका विदेश सचिव तथा आर्थिक मामिला विभागका सचिवको पनि सहभागिता रहेको थियो। भेटमा द्विपक्षीय आर्थिक सम्बन्धलाई बलियो बनाउने, पूर्वाधार तथा सीमापार कनेक्टिभिटी विस्तार गर्ने र नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणमा भारतीय सहयोगबारे विस्तृत छलफल भएको छ।

नेपालमा प्राकृतिक विपत्तिबाट भएको क्षतिप्रति भारतको अर्थ मन्त्रालयले सहानुभूति व्यक्त गर्दै एक्स (ट्विटर) मार्फत समवेदना प्रकट गरेको छ। भारतीय अर्थमन्त्री सीतारमणले बाढीका कारण ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्दै नेपालको पुनःस्थापना र पुनर्निर्माणका लागि भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाएकी छन्। भेटमा नेपाली प्रतिनिधिमण्डलले बाढीलगत्तै भारतले उपलब्ध गराएको तत्कालीन राहत सामग्री तथा प्राविधिक सहयोगका लागि आभार प्रकट गरेको थियो।

यसैबीच, भारत र नेपालबीच व्यापार, पारवहन तथा अनधिकृत व्यापार नियन्त्रणसम्बन्धी अन्तरसरकारी उपसमिति (IGSC) को बैठक सेप्टेम्बर १६ देखि १७ सम्म नयाँ दिल्लीमा सम्पन्न भएको छ। द्विपक्षीय व्यापार र पारवहनलाई सहज बनाउन गठित उक्त संस्थागत संयन्त्रको बैठकमा दुवै देशका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।

भारतीय प्रतिनिधिमण्डलको नेतृत्व वाणिज्य विभागका संयुक्त सचिव उज्ज्वल कुमार घोष र नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका संयुक्त सचिव बुद्धबहादुर गुरुङले गरेका थिए।

सौहार्दपूर्ण वातावरणमा सम्पन्न उक्त बैठकमा कृषि, दुग्धजन्य उत्पादन, खाद्य सामग्री, औषधि, मेडिकल उपकरण तथा आयुर्वेद/आयुषजन्य उत्पादनको बजार पहुँच सहज बनाउने विषयमा छलफल भएको छ। साथै भन्सार प्रणालीको Digitization, उत्पत्तिको प्रमाणपत्रको विद्युतीय प्रमाणीकरण, सीमा पूर्वाधार, एकीकृत जाँच चौकी तथा रेल र सडक कनेक्टिभिटीको समीक्षा गरिएको छ। दुवै पक्षले वैध सीमापार व्यापारलाई प्रोत्साहन गर्दै अनधिकृत व्यापार र व्यावसायिक ठगी नियन्त्रण गर्न सम्बन्धित निकायहरूबीच निरन्तर सहकार्य गर्ने सहमति गरेका छन्।

द्विपक्षीय वार्तापछि नयाँ दिल्लीस्थित नेपाली नियोगका कार्यवाहक राजदूत सुरेन्द्र थापाले अर्थमन्त्री डा. वाग्लेको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए। सो अवसरमा अर्थमन्त्री वाग्लेले नियोगका कूटनीतिक अधिकारीहरूसँग नेपाल–भारत आर्थिक सम्बन्धबारे विचार आदानप्रदान गर्दै द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन सक्रियतापूर्वक काम गर्न निर्देशन दिएका छन्। भारत भ्रमणका क्रममा अर्थमन्त्री डा. वाग्लेले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *