स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

डिसी नेपाल
५ असोज २०८३ १८:३४

सर्लाही। सर्लाहीको हरिवन नगरपालिकाको विभिन्न वडाक्षेत्रमा पछिल्लो समय स्यालको आक्रमणका घटना बढेको पाइएको छ। नजिकैको जङ्गलबाट आएका स्यालका हूलले मानिस र पशु चौपायालाई आक्रमण गरी घाइते तुल्याउने क्रम बढेको छ।

स्यालको टोकाइबाट बितेको २० दिन यता नगरपालिका विभिन्न क्षेत्रमा १० जना घाइते भएको वडा नम्बर ६ का वडाध्यक्ष सन्तलाल घिसिङले जानकारी दिए।

गएको शुक्रबार साँझ मात्रै सोही वडामा एक बालिकासहित चार जनालाई स्यालले आक्रमण गरेको हो। स्यालको आक्रमणबाट हालसम्म तीन दर्जनभन्दा बढी पशुचौपाया घाइते भएका छन्।

स्यालको आक्रमणबाट पछिल्लो समय स्थानीय ३० वर्षीया शर्मिला मैनाली, ३५ वर्षीया सावित्रा कुमारी मैनाली, ५७ वर्षीया देवमाया शिवाकोटी र दुई वर्षीया बालिका गोपिकाकुमारी महतो घाइते भएका छन्। उनीहरूलाई साँझ घर वरपर काम गरिरहेको अवस्थामा स्यालले आक्रमण गरेको थियो। उनीहरूको हात, खुट्टासहित शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ। स्यालको आक्रमणबाट त्यस नगरपालिका–१, ६ र ८ बढी प्रभावित रहेको पाइएको छ।

वनक्षेत्र नजिकै भएकाले मानव बस्तीमा पसी दिउँसो नै स्यालले मानिस र पशु चौपायालाई आक्रमण गर्न थालेपछि सर्वसाधारणलाई घर बाहिर निस्कन समेत डर मान्न पर्ने स्थिति बनेको स्थानीय रमेश लामा बताउँछन्।

स्यालको आक्रमणका घटना बढेपछि स्याल नियन्त्रणका लागि डिभिजन वन कार्यालयसँग समन्वय भइरहेको नगरप्रमुख रमेश बुडाथोकी बताए। ‘केही दिनयता स्यालले नगर क्षेत्रका केही गाउँमा आतङ्क मच्चाएको छ,’ उनले भने, ‘हामीले वन कार्यालय र पुलिस प्रशासनलाई समेत खबर गरी स्याल नियन्त्रण गर्न आग्रह गरेका छौँ।’

स्यालको आक्रमणबाट घाइते मानिस र पशु चौपायालाई रेबिज सङ्क्रमण नहोस् भनी पालिकाले प्रदेश सरकारसँग समन्वय गरी आवश्यक खोप लगाउने काम गरिरहेको नगर स्वास्थ्य शाखाका प्रमुख रामबाबु चौधरीले राससलाई जानकारी दिए। उनका अनुसार, पछिल्ला दिनमा स्वास्थ्यकर्मी र पशु चिकित्सकको टोली गाउँ–गाउँमै पुगेर घाइतेको उपचार गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *