कर्णाली करिडोरमा छारेभिरको पहिरोले सडक अवरुद्ध, ढुंगा फुटाउन ब्लास्टिङको तयारी
हुम्ला। कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरोसँगै खसेका ठूला ढुंगा पन्छाउन समस्या भएपछि सडक सञ्चालनमा ल्याउन कठिनाइ भएको छ।
छारेभिरमा दुई स्थानबाट पहिरो खसेपछि करिब एक सय मिटर सडक क्षेत्रमा ठूला ढुंगा थुप्रिएका छन्। पहिरो खस्ने क्रम अझै नरोकिएकाले सडक खुलाउन थप चुनौती भएको हिल्सा–सिमकोट सडक आयोजनाले जनाएको छ।
आयोजना प्रमुख बेलबहादुर नेपालीका अनुसार सडकमा खसेका ठूला ढुंगा सामान्य स्काभेटरबाट हटाउन सम्भव नभएपछि ड्रिल मेसिन प्रयोग गरी ब्लास्टिङ गरेर फुटाउने तयारी भइरहेको छ।
“ठूला ढुंगा खसेकाले स्काभेटरबाट मात्रै हटाउन सम्भव देखिएन। ड्रिल मेसिन प्रयोग गरेर ब्लास्टिङको तयारी भइरहेको छ,” उनले भने।
विस्फोटनका लागि आवश्यक तयारी भइरहेको भए पनि मौसम तथा अन्य प्राविधिक अवस्थाले साथ नदिए सडक सञ्चालनमा ल्याउन अझै करिब एक साता लाग्न सक्ने आयोजनाले जनाएको छ। त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्नुपर्ने अवस्था रहे पनि सडक खुलाउन आयोजना कार्यालयले निरन्तर काम गरिरहेको छ।
सडक अवरुद्ध भएपछि कर्णाली करिडोर हुँदै हुम्ला आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्। सडकबाट नियमित आवतजावत गर्न नसकिएपछि स्थानीयवासी र यात्रुहरू जोखिम मोलेर वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन्।
स्थानीय कमल बुढाका अनुसार यात्रुहरूले सडकको भिरतर्फ डोरी लगाएर भर्याङ बनाई जोखिमपूर्ण रूपमा वारपार गरिरहेका छन्।
ज्ञानोदय माध्यमिक विद्यालयका शिक्षक रिमिलाल बुढाले पनि निकै कठिन यात्रा गरेर सदरमुकाम सिमकोट पुगेको बताए। उनका अनुसार सडक अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालयलगायत सम्बन्धित निकायसँग सम्पर्क गर्दा तत्काल अन्य विकल्प नदेखिएपछि भर्याङ र डोरीको सहायताले भिर छिचोल्नुपरेको हो।
“जिल्ला प्रशासन कार्यालयलगायत विभिन्न सरोकारवाला निकायसँग सम्पर्क गर्दा उपाय नलागेपछि हामीले अन्तिम विकल्पका रूपमा भर्याङ लगाएर डोरीको सहायताले भिर छिचोलेर सारै कष्टकर र जोखिमपूर्ण यात्रा गर्दै सदरमुकाम सिमकोट पुगेका हौँ,” उनले भने।
आयोजना प्रमुख नेपालीले सडक खुलाउन प्राविधिक टोली र आवश्यक उपकरण परिचालन भइरहेको जानकारी दिँदै यात्रुहरूलाई जोखिमपूर्ण अवस्थामा भिरबाट आवतजावत नगर्न आग्रह गरेका छन्। पहिरो खस्ने क्रम नरोकिएकाले वैकल्पिक बाटोसमेत जोखिमपूर्ण रहेको उनको भनाइ छ।
शुक्रबार दिउँसोदेखि सडक अवरुद्ध भएपछि कर्णाली करिडोर हुँदै हुम्ला आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्। सिमकोट हुँदै सुर्खेत र नेपालगञ्ज तथा नेपालगञ्ज हुँदै सिमकोट जाने यात्रुसमेत प्रभावित भएका छन्। कैलाश मानसरोवर दर्शनका लागि हुम्ला हुँदै जाने यात्रुहरू पनि सडक अवरोधका कारण अलपत्र परेका छन्।
सडकमा थुप्रिएका ठूला ढुंगा हटाउन ब्लास्टिङ गर्नुपर्ने भएकाले प्राविधिक तयारी पूरा भएपछि मात्र सडक खुलाउने काम अघि बढ्ने आयोजनाले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment