संसदमा ऊर्जामन्त्रीको सम्बोधन: बाढी-पहिरो पीडितको उद्धार र पुनर्स्थापना सरकारको पहिलो प्राथमिकता

डिसी नेपाल
७ असोज २०८३ १२:२९

कठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले देशका विभिन्न भूभागमा परेको अविरल वर्षाका कारण सिर्जित बाढी, पहिरो र डुबानले पुर्‍याएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै संसद्‌मा सार्वजनिक महत्त्वको वक्तव्य प्रस्तुत गरेका छन्

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले प्राकृतिक विपद्का कारण धेरै नागरिकले ज्यान गुमाउनुपरेको, कयौं बेपत्ता र घाइते भएको तथा अर्बौं रुपैयाँ बराबरको भौतिक पूर्वाधारमा क्षति पुगेको जानकारी गराए

उनले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभयो साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्

विपद्लगत्तै सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरी खोज, उद्धार तथा राहत वितरणलाई तीव्र बनाएको मन्त्री श्रेष्ठले बताए

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनलाई पूर्ण क्षमताका साथ जोखिमयुक्त क्षेत्रमा खटाइएको छ। जोखिममा परेका बस्तीहरूबाट नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने र तत्कालका लागि खाद्यान्न, त्रिपाल तथा औषधी जस्ता राहत सामग्री पुर्‍याउने कार्य निरन्तर भइरहेको छ

अविरल वर्षा र लेदोसहितको बाढीका कारण जलविद्युत् आयोजना, प्रसारण लाइन र सिँचाइ संरचनाहरूमा व्यापक क्षति पुगेको मन्त्रीले संसद्‌लाई जानकारी दिए

बाढीले विभिन्न सञ्चालित तथा निर्माणाधीन जलविद्युत् गृहहरू र प्रसारण लाइनका टावरहरू ढालेका कारण देशका धेरै क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुन पुगेको छ भने नहर तथा सिँचाइ आयोजनाहरूमा क्षति पुग्दा कृषि क्षेत्रमा समेत प्रत्यक्ष असर परेको छ

अवरुद्ध भएका विद्युत् सेवा तथा सिँचाइ प्रणालीलाई यथाशीघ्र सञ्चालनमा ल्याउन मन्त्रालयका प्राविधिक तथा कर्मचारी टोलीहरू अहोरात्र खटिरहेको मन्त्रीले स्पष्ट पारे

मुख्य प्रसारण लाइन र सबस्टेसनहरूलाई आपत्कालीन मर्मत-सम्भार गरी सेवा पुन: सुचारु गर्ने कामलाई प्राथमिकता दिइएको छ। भौतिक पूर्वाधारको पूर्ण क्षतिको विवरण संकलन भइरहेको र क्षति मूल्यांकनपश्चात् दिगो पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विशेष कार्ययोजना ल्याइने प्रतिबद्धता व्यक्त गरिएको छ

मन्त्री श्रेष्ठले विपद्को यस कठिन र विषम परिस्थितिमा धैर्य धारण गर्न आग्रह गर्दै सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, गैरसरकारी संस्था र सर्वसाधारणलाई एकताबद्ध भई उद्धार, राहत र पुनर्स्थापनाको महाअभियानमा सहकार्य गर्न आह्वान गरेका छन्


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *