जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार पार्न ३० दिने तालिम सुरु
काठमाडौं। जलन (अग्निघात) उपचारमा विशिष्टीकृत जनशक्ति तयार पार्ने उद्देश्यका साथ राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले ३० कार्यदिनको विशेषज्ञ तालिम सुरु गरेको छ।
जलन सेवाको राष्ट्रियस्तरीय उपचार मापदण्ड अनुसार तेस्रो तह (टर्सरी लेभल) को सेवा प्रवाह गर्न आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि यो तालिम सञ्चालन गरिएको हो। तालिमको पहिलो समूहको प्रशिक्षण कीर्तिपुर अस्पतालमा प्रा. डा. शंकरमान राईको प्रमुख आतिथ्य तथा प्रशिक्षणमा आजदेखि सुरु भएको छ।
तालिमलाई दुई चरणमा विभाजन गरिएको छ, जसअनुसार पहिलो चरण असोज ७ देखि ३० गतेसम्म र दोस्रो चरण कात्तिक ९ देखि १८ गतेसम्म सञ्चालन हुनेछ। पहिलो समूहमा नारायणी अस्पताल (मधेश प्रदेश) र प्रदेश अस्पताल (कर्णाली प्रदेश) बाट चार-चार जना गरी कुल आठ जना स्वास्थ्यकर्मी सहभागी छन्।
तालिममा शल्यचिकित्सक, सामान्य चिकित्सा विशेषज्ञका साथै शल्यकक्ष (ओटी), सघन उपचार कक्ष (आईसीयू) र आकस्मिक सेवा (इमर्जेन्सी) मा कार्यरत स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको छ।
सहभागीहरूलाई जलन भएका बिरामीको आपत्कालीन तथा शल्य उपचार, घाउको मूल्याङ्कन तथा व्यवस्थापन, छाला प्रत्यारोपण (स्किन ग्राफ्टिङ), सघन उपचार, तरल पदार्थ व्यवस्थापन, सङ्क्रमण नियन्त्रण, पोषण, दुखाइ व्यवस्थापन र जलन उपचार कक्ष सञ्चालनसम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराइनेछ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको २०८३ साउन ६ गतेको बैठकको निर्णयअनुसार जलन उपचार कक्ष स्थापना भएका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई लक्षित गरी यो कार्यक्रम आयोजना गरिएको हो।
तालिमपछि सम्बन्धित क्षेत्रीय तथा प्रादेशिक अस्पतालहरूमा जलन उपचार वार्डको स्थापना, विस्तार र सुदृढीकरण भई विशिष्टीकृत सेवा पहुँचयोग्य बन्ने अपेक्षा गरिएको छ।
यसअघि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले आधारभूत जलन उपचारसम्बन्धी ११ समूहका १९९ जना र प्राथमिक जलन उपचारसम्बन्धी २३ समूहका ३६४ जना स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको छ।
प्रादेशिक तहमा विशेषज्ञ जनशक्ति तयार भएसँगै जलनका बिरामीलाई थप उपचारका लागि काठमाडौँ धाउनुपर्ने बाध्यता हट्ने र स्थानीयस्तरमै गुणस्तरीय सेवा उपलब्ध हुने विश्वास लिइएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment