महिला सुरक्षा र महँगी नियन्त्रण गर्न सांसदहरूको माग
काठमाडौं। प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले घरेलु हिंसा, मदिरा नियन्त्रण, दैनिक उपभोग्य वस्तुमा भएको अनियन्त्रित मूल्यवृद्धि तथा विपद् पूर्वतयारीका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
नेपाल कम्युनिष्ट पार्टीकी सांसद पार्वती विकले सुर्खेतको चौकुने गाउँपालिका-६ मा गोपीराम जैसीले मदिराका लागि पैसा नपाएको झोकमा आफ्नी श्रीमती चन्द्रकला देवकोटा जैसीको भरुवा बन्दुक हानेर हत्या गरेको घटनाप्रति दुःख व्यक्त गरिन्।
घटनामा दुई छोरी गम्भीर घाइते भएको र छोरा भागेर बाँच्न सफल भएको जानकारी दिँदै उनले घाइते बालबालिकाको निःशुल्क उपचार तथा पीडित परिवारलाई राहतको माग गरिन्। महिला हिंसा रोक्न, मदिरा तथा लागुऔषध नियन्त्रण गर्न र स्थानीय स्तरका मदिरा नियन्त्रणमा समेत कडाइ गर्न उनले आग्रह गरिन्।
त्यसैगरी, अर्की सांसद बलावती शर्माले दशैँ, तिहार र छठजस्ता चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको भन्दै सरकारको आलोचना गरिन्।
बजारमा रायो साग प्रतिकेजी २७० रुपैयाँ, चिनी १७० रुपैयाँ, कुखुराको मासु ५०० रुपैयाँ र खसीको मासु १ हजार ७०० रुपैयाँभन्दा माथि पुगेको उल्लेख गर्दै उनले कालोबजारी नियन्त्रण गर्न राज्यका संयन्त्रहरू असफल भएको आरोप लगाइन्।
मध्यपूर्वको युद्ध वा बाटो अवरुद्ध भएको बहाना बनाएर सरकार मूल्यवृद्धि र ग्यासको अभावबाट पन्छिन नमिल्ने उनको भनाइ थियो।
साथै, मौसम पूर्वानुमान महाशाखाले वर्षा र बाढीपहिरोको जोखिम कायमै रहेको जनाएको सन्दर्भमा सांसद शर्माले भोटेकोशीमा जस्तै विपद्को सास्ती जनताले पुनः भोग्न नपरोस् भन्दै पूर्वतयारी र उच्च सतर्कता अपनाउन सरकारसँग जोडदार माग गरिन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment