२०औं एसियाडमा नेपालको पहिलो जित: बक्सिङका खगेन्द्र रोका मगरको जित
काठमाडौं । जापानको आइची-नागोयामा जारी २०औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत बक्सिङको प्रारम्भिक चरणमा नेपालका खगेन्द्र रोका मगरले सानदार जित हासिल गरेका छन्।
निशिओ जिम्न्याजियममा बुधबार भएको पुरुष ६० केजी तौल समूहको खेलमा खगेन्द्रले मकाउका एल्भिन जोन रेयेस सालिनासलाई ५-० को एकपक्षीय स्कोरमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेका हुन्। जारी एसियाडमा नेपाली टोलीका तर्फबाट हासिल भएको यो पहिलो जित हो।
यसैबीच, प्रतियोगिताअन्तर्गत आज नेपालका खेलाडीहरूले सातवटा विभिन्न खेलहरूमा प्रतिस्पर्धा गर्दैछन्। जसमध्ये आज मुख्य ध्यान महिला कबड्डी टोलीको प्रदर्शनमा केन्द्रित रहनेछ। महिला कबड्डीको समूह ‘बी’ मा रहेको नेपालले आज चिनियाँ ताइपेईको सामना गर्दैछ। यो खेल नेपाली समयअनुसार अपराह्न ४:३० बजे सुरु हुनेछ।
नेपाल सम्मिलित समूह ‘बी’ मा चिनियाँ ताइपेई, श्रीलङ्का र थाइल्यान्ड रहेका छन्। पहिलो खेलमा थाइल्यान्डलाई पराजित गरिसकेको नेपालले आज चिनियाँ ताइपेईलाई हराउन सकेमा सेमिफाइनलको यात्रा थप सहज हुनेछ। अघिल्लो संस्करण (सन् २०२३ को हाङ्झाउ एसियाड) मा कास्यपदक जितेकी मानमति विष्टको कप्तानीमा रहेको नेपाली टोलीबाट यसपटक पनि पदकको उच्च आशा गरिएको छ।
नेपालले अहिलेसम्म पदकको खाता खोल्न सकेको छैन। आज कबड्डी र बक्सिङका अलावा पौडी, कराते, स्क्वास, टेबलटेनिस र उसुमा पनि नेपाली खेलाडीहरूले प्रतिस्पर्धा गर्दैछन्। यस २०औँ एसियाली खेलकुदमा नेपालबाट २२ खेलमा ५७ महिला र ७८ पुरुष गरी कुल १३५ जना खेलाडीहरू सहभागी रहेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment