ड्राइभरले हाइवेमा ओराल्दा महिलाको दुर्घटनामा मृत्यु भएपछि उबरलाई ६ अर्ब रूपैयाँ क्षतिपूर्ति तिर्न आदेश
काठमाडौं । उबरलाई २३ वर्षकी एक महिलाको परिवारलाई ४ करोड डलर (करिब ६ अर्ब रुपियाँ) क्षतिपूर्ति दिन आदेश दिइएको छ।
ती महिलाको मृत्यु क्यालिफोर्नियाको एक हाइवेमा भएको थियो। उबर चालकले गाडी रोकेर उनलाई कारबाट बाहिर निस्कन भनेको आरोप लगाइएको छ।
अदालती कागजातअनुसार एमिली नर्मन्डिन-पार्करले १२ अगस्ट २०२३ मा एक साथीसँग घर जानका लागि उबर बुक गरेकी थिइन्। बाटोमा उनकी साथीको स्वास्थ्य बिग्रियो र उनले कारभित्रै बान्ता गरिन्।
एमिलीका आमाबुबाका अनुसार चालकले हाइवेको किनारमा गाडी रोक्यो। उनले दुवै महिलालाई जबर्जस्ती कारबाट बाहिर निकालेको आरोप उनीहरूले लगाएका छन्। त्यसपछि सोही हाइवेमा अर्को गाडीले ठक्कर दिँदा एमिलीको मृत्यु भएको थियो।
उबरले भने चालक कम्पनीको कर्मचारी नभई एक स्वतन्त्र ठेकेदार भएको दाबी गरेको थियो। त्यसैले कम्पनी उसको कामका लागि जिम्मेवार नहुने तर्क उसले गरेको थियो।
एमिलीका आमाबुबाले एक वक्तव्यमा भनेका छन्, ‘एमिलीले उबरका तर्फबाट यात्रुहरूलाई दिइएका सबै निर्देशनहरूको पालन गरेकी थिइन्। उनले गाडी नचलाउने जिम्मेवार निर्णय लिइन् र गाडी बुक गरिन्। हामीलाई विश्वास थियो कि उबरले उनलाई सुरक्षित रूपमा घर पुर्याउनेछ। यही विश्वासको मूल्य हाम्री छोरीले आफ्नो ज्यान दिएर चुकाउनुपर्यो।’
एमिली क्यालिफोर्निया युनिभर्सिटी, लस एन्जलसबाट ग्र्याजुएट थिइन्। परिवारका तर्फबाट मुद्दा लडिरहेको ल फर्म ‘प्यानिस, सिया, रविपुडी’ का अनुसार न्यायाधीश रिचर्ड स्टोनले पाँच दिनको मध्यस्थतापछि उबरलाई एमिलीका आमाबुबालाई क्षतिपूर्ति दिन आदेश दिएका हुन्।
मध्यस्थता कुनै विवादलाई अदालतबाहिर मिलाउने एउटा तरिका हो। यसमा एक योग्य मध्यस्थकर्ताको मद्दत लिइन्छ। यस मामलामा मध्यस्थकर्ता एक सेवानिवृत्त न्यायाधीश थिए।
परिवारका तर्फबाट लडेका वकिलहरूले महिलाहरूलाई हाइवेमा छाडेपछि चालक वु ट्रानले उनीहरूका लागि सहयोग नमागेको बताएका छन्। यसको सट्टा, उनले गाडी रोकेर उबरलाई फोन गरे र एमिलीबाट सफाइ शुल्क असुल गर्न माग गरे।
न्यायाधीश स्टोनले भने, ‘ट्रानले आफ्ना यात्रुहरूको तुलनामा आफ्नो नयाँ कारको बढी चिन्ता गरे।’ ट्रानले हाइवेबाट बाहिर निस्किएर महिलाहरूलाई कुनै सुरक्षित ठाउँमा छाड्न सक्ने उनले बताए।
उबरले भने मध्यस्थकर्ताले कम्पनीलाई यस घटनाका लागि कानुनी रूपमा जिम्मेवार ठहराएर गल्ती गरेको आफ्नो ठहर रहेको बताएको छ।
कम्पनीले एक वक्तव्यमा भनेको छ, ‘हामीले सुरक्षा विशेषज्ञहरूबाट प्राप्त जानकारीका आधारमा नयाँ प्रविधि, नीति र सुरक्षा उपायहरूमार्फत सुरक्षासम्बन्धी आफ्ना कामहरू लगातार सुधार गरेका छौँ। यसमा चालकहरूलाई असुरक्षित ठाउँहरूमा यात्रुहरू ओराल्नबाट जोगिनका लागि अतिरिक्त जानकारी दिनु पनि समावेश छ।’
परिवारका तर्फबाट मुद्दा लडिरहेको ल फर्मले उबरले सुरुमा १ करोड डलरको सम्झौता प्रस्ताव गरेको जनाएको छ। त्यसअन्तर्गत एमिलीका आमाबुबालाई रकम दिइने तर उनीहरूले यस घटनाका बारेमा कुरा गर्न नपाउने सर्त मान्नुपर्ने थियो। परिवारले उक्त प्रस्ताव अस्वीकार गरिदिएको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment