नेपालका विपद्ले जलवायु संकटको भयावहता पुष्टि गर्यो: राष्ट्रसंघ महासचिव गुटेरेस
काठमाडौं। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा श्रृंखलाबद्ध रूपमा गइरहेका प्राकृतिक विपद्ले जलवायु संकटको जोखिमलाई पुष्टि गरेको भन्दै विश्व समुदायको गम्भीर ध्यानाकर्षण गराएका छन्।
राष्ट्रसंघको साधारण सभालाई सम्बोधन गर्ने क्रममा महासचिव गुटेरेसले जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिका कारण नेपालसहितका हिमाली मुलुकहरू उच्च जोखिममा परेको उल्लेख गरे। यसरी नै हिमनदीहरू पग्लिने क्रम तीव्र भइरहे विश्वले अझ ठूलो संकटको सामना गर्नुपर्ने चेतावनी उनले दिए।
महासचिव गुटेरेसले तीन वर्षअघि आफ्नो नेपाल भ्रमणका क्रममा अन्नपूर्ण र सगरमाथा क्षेत्रबाट ‘विश्वको छाना पग्लीरहेको’ भन्दै चेतावनी दिएको स्मरण गरे। उनले नेपालको भोटेकोशीमा आएको भीषण बाढीजस्ता घटनाहरूले जलवायुजन्य समस्यालाई वर्तमानको भयावह वास्तविकतामा परिणत गरिदिएको स्पष्ट पारे।
“तीन वर्षअघि नेपालका हिमालबाट मैले दिएको चेतावनीलाई धेरैले अतिरञ्जित ठानेका थिए, तर पछिल्ला विपद्हरूले जलवायु परिवर्तनको असर अनुमान गरिएभन्दा धेरै छिटो, गम्भीर र व्यापक रूपमा देखिन थालेको पुष्टि गरेका छन्,” महासचिव गुटेरेसले भने।
जलवायु परिवर्तनमा न्यून योगदान भए पनि नेपालजस्ता अल्पविकसित र हिमाली देशहरूले यसको ठूलो मूल्य चुकाउनुपरेको भन्दै उनले जलवायु न्यायको माग गरे।
प्रदूषण फैलाउने धनी र विकसित राष्ट्रहरूले नै यसको आर्थिक क्षतिपूर्ति तिर्नुपर्ने र प्रभावित जोखिमयुक्त मुलुकहरूलाई पर्याप्त वित्तीय सहयोग उपलब्ध गराउनुपर्ने उनको जोड थियो।
उनले जलवायु परिवर्तनबाट हुने हानि-नोक्सानी सम्बोधनका लागि स्थापना गरिएको ‘लॉस एण्ड ड्यामेज फण्ड’ मा अझै पर्याप्त रकम जम्मा हुन नसकेको प्रति चिन्ता व्यक्त गरे।
विकसित मुलुकहरूलाई आफ्ना प्रतिबद्धताहरू तुरुन्त पूरा गर्न आग्रह गर्दै महासचिव गुटेरेसले जलवायु अनुकूलन वित्तलाई तीन गुणाले बढाउन र कोषमा थप स्रोत परिचालन गर्न विश्वसमुदायसँग आह्वान गरे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment