हिमपातले उवा भित्र्याउनै समस्या, पाकेको बाली खेतमै ढल्यो
सुर्खेत। हिमाली क्षेत्रमा भारी हिमपात सुरु भएपछि त्यहाँको वर्षमा एक पटक मात्रै उत्पादन हुने प्रमुख खाद्यबाली उवा भित्र्याउन किसानलाई समस्या भएको छ। लगातारको हिमपातका कारण खेतबारीमा पाक्न लागेको उवा ढलेर नष्ट हुन थालेपछि किसान चिन्तित भएका छन्।
हिमपातका कारण किसान खेतबारीमा पुगेर उवा काट्न तथा भित्र्याउन नसक्ने अवस्था आएको हो। पाक्न लागेको उवा बाक्लो हिउँले पुरिएपछि कतिपय ठाउँमा बोट ढलेर सोतर बनेको डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका उपाध्यक्ष पेम्मा वाङछेन गुरुङले जानकारी दिए।
‘उवा पाक्ने समय भएको थियो, तर एक्कासी भारी हिमपात भएपछि किसान खेतमा जान सक्ने अवस्था छैन,’ उनले भने, ‘पाकेको उवा हिउँले ढलाउँदा बालीमा क्षति पुग्न थालेको छ। समयमै मौसम खुलेर उवा भित्र्याउन नपाए किसानलाई ठुलो समस्या हुन सक्छ।’
डोल्पाको उपल्लो क्षेत्रमा उवा मुख्य खाद्यान्न बालीका रूपमा खेती हुँदै आएको छ। विशेष गरी शे–फोक्सुण्डो, डोल्पो बुद्ध र छार्काताङसोङ गाउँपालिकाका उच्च हिमाली बस्तीमा उवा खेती हुने गरेको छ। चिसो हावापानी र छोटो खेतीयोग्य समयका कारण यहाँ वर्षमा एक पटक मात्रै उवा उत्पादन हुने भएकाले यसमा हुने क्षतिले स्थानीय खाद्य सुरक्षामै असर पार्न सक्ने स्थानीय बताउँछन्।
उवा पाक्ने समयमै हिमपात भएपछि किसानले खेतमा गएर बाली काट्ने, सुकाउने र भण्डारण गर्ने काम प्रभावित भएको छ। बाक्लो हिउँ लामो समयसम्म जमिरहेमा खेतमा ढलेको उवा कुहिने तथा दाना झर्ने जोखिमसमेत बढेको किसानको भनाइ छ।
डोल्पाको उपल्लो भेगमा मात्रै नभई हुम्लाका उच्च हिमाली क्षेत्रमा पनि हिमपातका कारण उवा लगायतका कृषि उत्पादन प्रभावित हुन थालेका छन्। हुम्लाका नाम्खा, सिमकोटको उच्च क्षेत्रलगायतका हिमाली बस्तीमा हिमपात भएपछि किसानलाई पाकेको बाली भित्र्याउन समस्या भएको स्थानीयले बताएका छन्।
हिमाली क्षेत्रमा उवा स्थानीय बासिन्दाको मुख्य खाद्यान्नमध्ये एक हो। लामो समयसम्म हिउँ पर्ने र यातायातको सहज पहुँच नहुने भएकाले स्थानीय उत्पादनमै निर्भर रहनुपर्ने बाध्यता छ। यस्तो अवस्थामा वर्षमा एक पटक उत्पादन हुने उवा खेतमै नष्ट भएमा आगामी महिनामा खाद्यान्नको अभाव हुन सक्ने चिन्ता स्थानीयको छ।
स्थानीय तहका जनप्रतिनिधिले हिमपातको अवस्था हेरेर किसानलाई सम्भव भएसम्म सुरक्षित स्थानमा बाली भित्र्याउन तथा क्षतिको विवरण संकलन गर्न आग्रह गरेका छन्। लगातारको हिमपातका कारण उच्च हिमाली क्षेत्रमा जनजीवनसँगै कृषि, पशुपालन र आवतजावतसमेत प्रभावित भएको छ।
उवा भित्र्याउने समयमा नै हिमपात सुरु भएपछि किसानले यस वर्ष उत्पादनमा कमी आउने अनुमान गरेका छन्। मौसममा सुधार आएपछि तत्काल खेतमा पुगेर ढलेको उवा उठाउने र सुरक्षित रूपमा भण्डारण गर्ने तयारीमा किसान छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment