वर्षासँगै हिमपातले हुम्लाको जनजीवन प्रभावित, फोन र इन्टरनेट सेवा अवरुद्ध
हुम्ला। निरन्तर वर्षासँगै भएको हिमपातका कारण हुम्लाको जनजीवन प्रभावित भएको छ। जिल्ला सदरमुकाम सिमकोटसहित जिल्लाका अधिकांश क्षेत्रमा फोन तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा सञ्चार सम्पर्कसमेत प्रभावित भएको छ।
अग्ला स्थानमा रहेका टेलिफोन तथा इन्टरनेट टावरमा जडान गरिएका सोलार प्रणालीले काम गर्न नसकेपछि सञ्चार सेवा अवरुद्ध भएको जनाइएको छ। लगातारको वर्षा र हिमपातका कारण सोलार प्रणालीमा समस्या आएपछि जिल्लाका विभिन्न क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएको हो।
सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीय तह, सुरक्षा निकाय तथा अन्य सम्बन्धित कार्यालयसँग समन्वय गर्नसमेत समस्या भएको छ। वर्षा र हिमपातका कारण जिल्लाका विभिन्न स्थानमा भएको क्षतिको विवरण संकलन तथा आवश्यक सूचना आदानप्रदानमा समेत कठिनाइ भइरहेको जनाइएको छ।
निरन्तर वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा विद्यालय भवनमा समेत क्षति पुगेको बताइएको छ। वर्षासँगै सडक अवरुद्ध भएपछि आवतजावतमा समेत समस्या भएको छ।
यसैगरी, सिमकोटसहित जिल्लाका उच्च भूभागमा हिमपात भइरहेको छ। चीनसँगको सीमा जोडिएको हिल्सा नाका हिमपातका कारण पूर्णरूपमा अवरुद्ध रहेको जनाइएको छ। लगातारको वर्षा र हिमपातका कारण जिल्लाको यातायात तथा दैनिक गतिविधिमा समेत असर परेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment