सन्तानको दीर्घायुका लागि आमाको कठोर तपस्या नै जितिया पर्वको विशेषता हो : रामदयाल राकेश

काठमाडौं । देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ । यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया पर्व पनि एक मुख्य पर्व हो ।

जितिया केवल एउटा पर्व होइन आमाको त्याग, सन्तानप्रतिको माया र दीर्घायुको कामनासँग जोडिएको परम्परा हा । आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी गरी तीन दिन मनाइने यो पर्वमा आमाहरू आफ्ना सन्तानको सुख, शान्ति र दीर्घ जीवनको कामना गर्दै कठोर व्रत बस्छन् ।

व्रतका क्रममा अन्न मात्र होइन, पानीसमेत नखाने परम्पराले जितियालाई अन्य पर्वभन्दा फरक बनाएको छ । करिब २४ घण्टासम्म निराहार र निर्जल व्रत बस्ने यो परम्परामा धार्मिक आस्था मात्र छैन, सन्तानका लागि आमाले गर्ने त्यागको भाव पनि जोडिएको छ ।

संस्कृतिविद् रामदयाल राकेशका अनुसार जितिया पर्व सन्तानको दीर्घायुका लागि आमाहरूले गर्ने कठिन तपस्याको पर्व हो । ‘आमाहरूले आफ्ना सन्तानको दीर्घ जीवनका लागि जस्तोसुकै कष्ट सहन तयार हुन्छन्,’ राकेश भन्छन,जितियाको मुख्य उद्देश्य नै सन्तान दीर्घायु होऊन् र परिवारमा सुख–शान्ति कायम होस् भन्ने हो ।’

जितियाको सबैभन्दा कठिन पक्ष व्रत हो । व्रत बसेका महिलाले निश्चित अवधिसम्म अन्न र पानी दुवै त्याग्छन् । सामान्य उपवासभन्दा फरक भएकाले यसलाई कठिन धार्मिक अनुष्ठानका रूपमा लिइन्छ । तर व्रत सुरु हुनुअघि भने विशेष खानपानको चलन छ । एक दिनअघि ‘दर’ खाने चलन छ । जसमा कोदोको रोटी र माछा खाने परम्परा रहेको राकेश बताउँछन् । दर खाएको भोलीपल्ट भने व्रत सुरु हुन्छ । ‘व्रतमा पानी पनि खान हुँदैन, अन्नको त कुरै भएन,’ उनी भन्छन्, ‘यसैबाट पनि जितियाको व्रत कति कठिन छ भन्ने बुझ्न सकिन्छ ।’

व्रतको कठिनाइका बाबजुद महिलाहरूले यसलाई सन्तानप्रतिको आफ्नो जिम्मेवारी र धार्मिक आस्थाका रूपमा ग्रहण गर्दै आएका छन् । आफ्नो शरीरले कष्ट पाए पनि सन्तानको जीवन सुखमय होस् भन्ने विश्वासले उनीहरूलाई व्रत बस्ने ऊर्जा दिने गरेको राकेशको भनाइ छ ।

जितिया पर्वमा विशेषगरी जिमुतवाहनको पूजा गरिन्छ । सन्तानको दीर्घायुका लागि जिमुतवाहनको आराधना गर्ने धार्मिक परम्परा छ । पूजाका क्रममा घिरौँलाको पातमा ‘खरि’ अर्थात् तेल पेलेपछि बाँकी रहने पिना राख्ने चलन रहेको राकेश बताउँछन् । त्यसलाई धार्मिक विधिअनुसार प्रयोग गरी जिमुतवाहनको पूजा तथा आराधना गरिन्छ । यसमा पूजा विधि जटिल नभए पनि त्यसअघि र त्यसक्रममा पालना गर्नुपर्ने व्रत नै यसको मुख्य कठिन पक्ष हो । पूजा र व्रतसँग जोडिएको मूल कामना भने एउटै हुन्छ—सन्तानको दीर्घायु, सुख र परिवारको शान्ति ।

आमाको त्यागको कथा

जितियालाई बुझ्न यसको धार्मिक विधिभन्दा पर रहेको भावनालाई बुझ्नुपर्ने संस्कृतिविद् राकेशको भनाइ छ । उनका अनुसार सन्तानका लागि आमाले गर्ने त्याग नै जितियाको मूल भाव हो ।

आफ्ना लागि कष्ट सहेर भए पनि सन्तानले सुख पाओस, दीर्घ जीवन बाँचोस् र भविष्य उज्ज्वल होस् भन्ने चाहनाले महिलाहरू व्रत बस्छन् । ‘आमाहरूले कष्ट गरे पनि आफ्ना सन्तानले सुख पाऊन्, दीर्घ जीवन पाऊन् भन्ने चाहना हुन्छ,’ राकेश भन्छन,‘प्रत्येक बुबा–आमाको इच्छा यही हुन्छ । तर जितियामा महिलाको भूमिका विशेष हुन्छ ।’ त्यसैले जितियालाई केवल धार्मिक अनुष्ठानका रूपमा मात्र हेर्नुभन्दा आमा र सन्तानबीचको भावनात्मक सम्बन्धलाई अभिव्यक्त गर्ने सांस्कृतिक पर्वका रूपमा पनि बुझ्न सकिन्छ ।

मैथिली संस्कृतिको मौलिक पहिचान

तराई–मधेसका विभिन्न समुदायले मनाउने पर्वमध्ये जितियाको आफ्नै सांस्कृतिक पहिचान छ । मैथिली संस्कृतिमा यसको विशेष महत्व छ भने थारू समुदायमा पनि जितिया मनाउने परम्परा छ ।

समुदायअनुसार पूजाविधि र परम्परामा केही भिन्नता देखिए पनि सन्तानको दीर्घायुका लागि व्रत बस्नु यसको साझा पक्ष हो । राकेशका अनुसार अन्य धेरै पर्व विभिन्न समुदाय र संस्कृतिमा फरक–फरक रूपमा मनाइए पनि जितिया मैथिली संस्कृतिको मौलिक पर्व हो । ‘धेरै पर्व सबै समुदाय र संस्कृतिमा कुनै न कुनै रूपमा मनाइन्छन् । तर जितिया मैथिली संस्कृतिको विशिष्ट र मौलिक पर्व हो,’ उनी भन्छन् ।

पहाडी क्षेत्र तथा काठमाडौं उपत्यकामा परम्परागत रूपमा जितिया मनाउने चलन नरहेको पनि उनी बताउँछन् । त्यसैले तराई–मधेसको सांस्कृतिक जीवन र मैथिली पहिचान बुझ्न जितियाको आफ्नै महत्व छ ।

परिवारभित्रको पर्व

जितियाको अर्को विशेषता यसको पारिवारिक स्वरूप हो । अन्य कतिपय पर्वमा जस्तो ठूलो मेला वा सार्वजनिक जमघट यसको मूल परम्परा होइन । घरपरिवारमै पूजाआजा र व्रतका विधि पूरा गरिन्छ ।

यसमा उत्सवको बाहिरी प्रदर्शनभन्दा धार्मिक आस्था र पारिवारिक सम्बन्धलाई प्राथमिकता दिइन्छ । आमाहरू व्रत बस्छन्, परिवारका सदस्य पूजाविधिमा सहभागी हुन्छन् र सन्तानको सुख–शान्तिका लागि कामना गरिन्छ । त्यसैले जितियाको कथा बाहिर देखिने चहलपहलभन्दा बढी घरभित्रको भावनासँग जोडिएको छ ।

तराई–मधेसमा जितियासँगै पर्वको मौसम पनि विस्तार हुँदै जान्छ । खेतीपातीको काम सम्पन्न गरेपछि कृषक परिवारहरू चाडपर्वको तयारीमा जुट्ने भएकाले यस समय गाउँघरको दैनिकीमा पनि परिवर्तन देखिन्छ । राकेशका अनुसार खेतीको काम सकेर कृषकहरू पर्व मनाउने तयारीमा लाग्ने गर्छन् । ‘खेतीबारीको काम सम्पन्न गरेर अहिले पर्व–तिहारको रमझम सुरु भएको छ,’ उनी भन्छन,‘कृषकहरू खेतीको काम सकेर निश्चिन्त भएर पर्व मनाउने गर्छन् ।’

जितियाको व्रतसँगै तराई–मधेसमा दसैँलगायतका प्रमुख पर्वको माहोल पनि थप बाक्लिँदै जान्छ । खेतबारीको व्यस्तताबाट केही समय विश्राम लिएर परिवारसँगै पर्व मनाउने क्रम सुरु हुन्छ ।

तर यी पर्वमध्ये जितियाको कथा भने केही फरक छ—यहाँ उत्सवको केन्द्रमा आमाको अनुहार हुन्छ । हातमा पूजाको सामग्री र ओठमा सन्तानको दीर्घायुको कामना बोकेर आमाहरू निर्जल व्रत बस्छन् । आफूले कष्ट सहेर सन्तानको जीवन सुखमय होस् भन्ने कामना गर्नु नै जितियाको मूल भावना हो । यही भावनाले पुस्तौँदेखि तराई–मधेसको सांस्कृतिक जीवनमा जितियालाई निरन्तरता दिँदै आएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *