महालक्ष्मीको १६ दिने व्रत चन्द्रमालाई अर्घ्य दिएर समापन
काठमाडौं। भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको महालक्ष्मीको १६ दिने व्रत चन्द्रमालाई अर्घ्य दिएर रातभर जाग्राम बसेसँगै गएराति समापन भएको छ।
धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न पार्ने उद्देश्यले विशेष धार्मिक विधिअनुसार यो व्रत बस्ने परम्परा रहिआएको छ। महालक्ष्मीको व्रत बस्दा दुःख, दारिद्र्य नाश हुनुका साथै सुख, शान्ति, श्रीवृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ। विशेषगरी महिलाले यो व्रत लिने गरेका छन्।
विभिन्न धार्मिक ग्रन्थमा भगवान् शङ्करले देवी पार्वतीलाई महालक्ष्मी व्रतको विधिबारे जानकारी गराउनुभएको उल्लेख छ। धार्मिक मान्यताअनुसार श्रद्धापूर्वक यो व्रत तथा पूजा आराधना गरेमा जीवनमा सुख, समृद्धि प्राप्त हुने र मानव देह त्यागपछि दिव्यधाम प्राप्त हुने विश्वाससमेत रहँदै आएको छ।
महालक्ष्मी व्रतकथामा देवराज इन्द्रले समेत महालक्ष्मीको व्रत तथा पूजाआराधना गरी ‘महालक्ष्म्याष्टक स्तोत्र’ रचना गरेको उल्लेख गरिएको छ। धार्मिक मान्यताअनुसार बिहान, मध्याह्न र साँझ गरी दिनमा तीन पटक महालक्ष्म्याष्टक स्तोत्र पाठ गरेमा धनधान्य, सुख तथा समृद्धि प्राप्त हुनुका साथै शत्रुको नाश हुने विश्वास गरिन्छ।
वैदिक परम्पराअनुसार प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीदेखि आश्विन कृष्ण अष्टमीसम्म १६ दिन विशेषरूपमा महालक्ष्मीको व्रत तथा पूजा आराधना गरिन्छ। यसबाहेक आश्विन शुक्ल पूर्णिमा र कार्तिक कृष्ण औँसीका दिन पनि महालक्ष्मीको विशेष पूजा गर्ने धार्मिक परम्परा रहेको छ।
त्यसैगरी आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म मनाइने दुर्गा पक्षमा महाकाली र महासरस्वतीसँगै महालक्ष्मीको समेत विशेष पूजा आराधना गर्ने चलन छ। धन, समृद्धि र वैभवकी देवीका रूपमा महालक्ष्मीको आराधना गर्दै श्रद्धालुले विभिन्न धार्मिक विधि पूरा गर्ने गर्छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment