जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत निर्वाचित
काठमाडौं। पर्साको वीरगञ्जमा सम्पन्न जनमत पार्टीको दोस्रो महाधिवेशनबाट अध्यक्ष पदमा पुनः डा. सीके राउत अत्यधिक मतका साथ निर्वाचित भएका छन्। २६ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनमा कुल १,१५५ जना प्रतिनिधिले मतदान गरेका थिए।
अध्यक्ष पदमा डा. राउतको मात्र उम्मेदवारी परेको भए पनि पार्टी विधानअनुसार कम्तीमा २० प्रतिशत सदर मत ल्याउनुपर्ने व्यवस्था रहेकाले मतदान प्रक्रिया अपनाइएको थियो। मतगणनाअनुसार डा. राउतले ९५८ मत प्राप्त गर्दै अध्यक्ष पद सुरक्षित गरेका हुन्।
पार्टीको महत्त्वपूर्ण महासचिव पदमा सिरहाका सञ्जयकुमार यादव ६१८ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनी मधेश प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री हुन्। महासचिव पदका अन्य प्रतिस्पर्धीहरू ममता झाले २२० मत र निवर्तमान महासचिव चन्दनकुमार सिंहले १६५ मत प्राप्त गरे।
उनीहरू दुवै जनाले २० प्रतिशतको थ्रेसहोल्ड कटाउन नसकेको पार्टीको निर्वाचन समितिले जनाएको छ। त्यस्तै, उपमहासचिव पदमा सिरहाकै निर्मलकुमार मण्डल ५०१ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी ललितचन्द्र मल्लिकलाई पराजित गरी विजयी भएका छन्।
महाधिवेशनबाट सात जना उपाध्यक्ष चयन भएका छन्। ११ जना प्रतिस्पर्धी रहेको उपाध्यक्ष पदमा अनिताकुमारी मण्डल, अनितादेवी साह, नरेन्द्रप्रसाद चौधरी, बसन्तकुमार कुशवाहा, डा. जयकान्त राउत, राजकुमार यादव र माधवप्रसाद सिंह निर्वाचित भएका हुन्। उपाध्यक्षका अन्य उम्मेदवारहरू परमेश्वर मुर्मु, हरपाल सिंह सोडी, मनोहरा देवी बैठा र रोशन खातुन भने पराजित भए।
यसैगरी सात जना सचिव पदका लागि नौ जना चुनावी मैदानमा रहेकामा सुरेन्द्र शर्मा, पारसप्रसाद साह, सन्तोष राज सहनी, अन्जनी देवी, राधाकुमारी यादव, हरेन्द्र चौधरी र बालगोविन्द चौधरी निर्वाचित भएका छन्।
सचिव पदमा वीरेन्द्र महतो ‘जीवन त्यागी’ र रामबाबु साह पराजित भएका छन्। वीरगञ्जमा आयोजना गरिएको यस महाधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष डा. सीके राउतसहित जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता गणेश पराजुली, पूर्वमन्त्री मातृकाप्रसाद यादव र उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङलगायतका नेताहरूको उपस्थिति रहेको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment