देउवाको महाधिवेशनमा उपस्थितिको अपेक्षा गरेका छौँ : मीनबहादुर विश्वकर्मा

डिसी नेपाल
१८ असोज २०८३ १५:३९

काठमाडौं। नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले पार्टीका सर्वोच्च नेता शेरबहादुर देउवाको १५औँ महाधिवेशनमा उपस्थितिको अपेक्षा गरिएको बताएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी नेता विश्वकर्माले कांग्रेसभन्दा बाहिर रहेका नेताहरूलाई पनि पार्टीको मूलधारमा समेट्ने प्रयास भइरहेको बताए। त्यसका लागि महाधिवेशनको कार्यतालिका समेत लचिलो ढंगले संशोधन तथा पछाडि सार्ने काम भइरहेको उनले बताए।

उनले लामो राजनीतिक अनुभव र नेपाली लोकतन्त्रमा योगदान गरेका नेता देउवा महाधिवेशनमा उपस्थित भएर सम्बोधन गर्ने र पार्टीको ऐतिहासिक धरोहरको निरन्तरता कायम गर्ने विश्वास व्यक्त गरे।

देउवाको उपस्थिति निश्चित भइसकेको हो भन्ने प्रश्नमा विश्वकर्माले निश्चित भएको भए आफूले नै ‘आउँदै हुनुहुन्छ’ भनेर भनिसक्ने भन्दै अहिले अपेक्षा र विश्वास मात्रै रहेको बताए।

उनले देउवाको उपस्थितिले उनको राजनीतिक व्यक्तित्व र गरिमालाई सुखद बहिर्गमनका रूपमा स्थापित गर्न सहयोग पुग्ने बताए। देउवा नेपाली जनतामाझ लोकप्रिय तथा कांग्रेसको साझा नेता भएकाले महाधिवेशनमा उनको उपस्थितिको अपेक्षा गरिएको उनले उल्लेख गरे।

नेता विश्वकर्माले नेपाली कांग्रेस कुनै स्थानीय, जातीय वा धार्मिक पार्टी नभई राष्ट्रिय पार्टी भएकाले नेपाली समाजको विविधतालाई सम्बोधन गर्न सक्ने साझा नेतृत्व आवश्यक रहेको बताए। नेपाली राजनीतिमा देखिएको वैचारिक विचलनलाई सम्बोधन गर्दै विचारको नेतृत्व गर्न र सबै राजनीतिक शक्तिलाई समन्वय गर्न सक्ने नेतृत्व कांग्रेसमा आवश्यक रहेको उनले बताए।

उनले कांग्रेसको वर्तमान कार्यसमितिमा सक्षम नेताहरू रहेको उल्लेख गर्दै उनीहरूमध्येबाट नयाँ नेतृत्व आउने बताए। पछिल्लो परिस्थितिमा कांग्रेसका वर्तमान सभापति गगनकुमार थापा सर्वसम्मत सभापति बन्ने सम्भावना आफूले पनि देखेको विश्वकर्माले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *