दाउन्ने बस दुर्घटना : मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

डिसी नेपाल
१८ असोज २०८३ १६:०४

बाँके। दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको निधन भएपछि बाँकेको एलगाउँवासी शोकमग्न भएका छन्।

नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस शनिवार नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्नेको एसमोडमा दुर्घटना हुँदा बाँकेको खजुरा गाउँपालिका–२ का ३६ वर्षीय चालक सुरेश बिसी, कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दीपेन्द्र केसी, कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी, नेपालगञ्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजियाको निधन भएको थियो।

सुरेश र एकेन्द्र सहोदर मामा र भान्जा हुन्। खजुरा–२ एलगाउँकै स्थायी बासिन्दा रहनुभएका एकेन्द्र हाल कोहलपुरमा बसोबास गर्दै आएको स्थानीय भीम ओलीले बताए। दसैँको पूर्वसन्ध्यामा सडक दुर्घटनामा चार जनाको निधनले सिङ्गो गाउँनै शोकमग्न बनाएको खजुरा ओलीले बताए। “सोच्दै नसोचेको, कल्पनासमेत नगरेको यो दुःखद् खबरले हामी स्तब्ध भएका छौँ”, ओलीले भने, “सवारी दुर्घटनामा मामा एकेन्द्रराज रेग्मी र भाइ सुरेश विसीको यो असामयिक निधनले पूरै परिवार, सिङ्गो गाउँ नै शोकमा डुबेको छ।”

मामा र भान्जा नै बस चालक भए पनि शनिबार भने भान्जालाई साथ दिन एकिन्द्र पनि सँगै बसमा गएको ओलीले जानकारी दिए। मृतक दुवै जनाको स्थानीय मानखोला घाटमा दाहसंस्कार गरिएको छ।

खजुरा गाउँपालिकाका पूर्वअध्यक्ष किस्मतकुमार कक्षपतिले दसैँको मुखैमा बस दुर्घटनामा मानवीय क्षति हुँदा आफन्तजनसँगै समग्र जिल्लावासीसमेत शोकमा रहेको बताए। उनले २४ घण्टाको अन्तरालमा खजुरा गाउँपालिका निवासी दुई बस चालकको ज्यान गएको उल्लेख गरे।

शुक्रबार काठमाडौँबाट बर्दियातर्फ आउँदै गरेको कपिलवस्तुमा दुर्घटना हुँदा बस चालक बाँकेको खजुरा गाउँपालिका–५ का ३४ वर्षीय सुमन खत्रीको घटनास्थलमै मृत्यु भएको थियो। दाउन्ने बस दुर्घटनामा ज्यान गुमाएका नेपालगञ्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजिया र कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दीपेन्द्र केसीको परिवार र आफन्तजन पनि शोकमग्न छन्। कोहलपुर नगरपालिका–३ का वडाध्यक्ष माधव रिजालले दसैँको मुखमा परी वडावासी युवालाई गुमाउनुपर्दा नरमाइलो महसुस भइरहेको बताए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *