चोलेन्द्रसँग सम्पर्कमा रहेको भेटिएपछि बिचौलिया दीपक भट्टलाई नख्खु कारागारबाट सिन्धुपाल्चोक पठाइयो
काठमाडौं । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पुर्पक्षका लागि नक्खु कारागारमा थुनामा रहेका व्यवसायी दीपक भट्टलाई सिन्धुपाल्चोक कारागार स्थानान्तरण गरिएको छ।
कारागार व्यवस्थापन विभागका अनुसार सुरक्षा र अनुसन्धानको संवेदनशीलतालाई ध्यानमा राख्दै शनिबार साँझ उनलाई सिन्धुपाल्चोक पठाइएको हो।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग निकट सम्बन्ध रहेका भनिएका इनम सापकोटासँग भट्टको सम्पर्क देखिएपछि विभागले यो कदम चालेको बुझिएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण मुद्दासँगै पुर्पक्षमा रहेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवालले सापकोटामार्फत पूर्वप्रधानन्यायाधीश जबरासँग नियमित संवाद गर्ने गरेको खुलेको छ।
सोही आधारमा प्रहरीको विशेष ब्युरोले सापकोटालाई नियन्त्रणमा लिएर जबरासँगको सम्बन्ध तथा बिचौलिया भूमिकाबारे गम्भीर सोधपुछ र अनुसन्धान अघि बढाएको छ।
यसैबीच, गत असोज ११ गते सुरक्षा चुनौतीको कारण देखाउँदै नियन्त्रणमा लिइएका पूर्वप्रधानन्यायाधीश जबरालाई सोही दिन छाडिए तापनि विकसित पछिल्ला घटनाक्रमसँगै उनीमाथि अनुसन्धानको दायरा फराकिलो पारिएको छ।
थुनामा रहेका भट्ट र अग्रवालको बाहिरी सञ्जाल तथा सम्भावित अवाञ्छित गतिविधिबारे प्रहरी स्रोतले सूक्ष्म अनुसन्धान भइरहेको जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment