जनमत पार्टीको महाधिवेशन: वीरगञ्जमा मतगणना जारी, नयाँ नेतृत्वको आज टुङ्गो लाग्दै

डिसी नेपाल
१८ असोज २०८३ ७:५१

वीरगञ्ज। पर्साको वीरगञ्जमा जारी जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको मतदानको मतगणना कार्य शनिबार रातिदेखि सुरु भएसँगै आज नयाँ नेतृत्वको टुङ्गो लाग्ने भएको छ।

महाधिवेशनमा २६ पदाधिकारीसहित ९९ पदका लागि मनोनयन दर्ता भएको थियो। पार्टीका पर्सा अध्यक्ष एवं महाधिवेशन व्यवस्थापन समितिका संयोजक ओमप्रकाश सर्राफका अनुसार शनिबार राति ९ बजेदेखि मतगणनाको प्रक्रिया अघि बढाइएको हो।

पार्टीको सर्वोच्च पद अध्यक्षमा डा. सीके राउतको मात्र एकल उम्मेदवारी परेको छ। अध्यक्ष पदमा डा. राउत निर्विरोध हुने निश्चित भए पनि पार्टीको विधानअनुसार अध्यक्षका उम्मेदवारले कुल सदर मतको कम्तीमा २० प्रतिशत थ्रेसहोल्ड (सदर मत) प्राप्त गर्नुपर्ने अनिवार्य व्यवस्था रहेकाले उहाँको पक्षमा पनि मतदान गराइएको छ।

त्यस्तै, सात उपाध्यक्ष पदका लागि ११ जना उम्मेदवारबिच कडा प्रतिस्पर्धा भएको छ। महासचिव पदमा तीन जना, उपमहासचिवमा दुई जना र सात सचिव पदका लागि नौ जना उम्मेदवार चुनावी मैदानमा छन्। कार्यकारिणी सदस्यतर्फका ७३ जना उम्मेदवारबिच पनि प्रतिस्पर्धा भएको छ। यस महाधिवेशनमा देशभरबाट आएका १ हजार १५५ जना प्रतिनिधिहरूले मतदान प्रक्रियामा सहभागिता जनाएका थिए।

यसअघि जनमत पार्टीको महाधिवेशन उद्घाटन समारोह पार्टीका पर्सा अध्यक्ष ओमप्रकाश सर्राफको अध्यक्षतामा सम्पन्न भएको थियो। समारोहमा सहिद परिवारको प्रतिनिधित्व गर्दै राधा यादवलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *