नारायणघाट–बुटवल सडकखण्डमा थपिँदै वन्यजन्तुका लागि ‘ओभरहेड क्यानोपी ब्रिज’
नवलपुर (नवलपरासी)। पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल सडकखण्डको जङ्गल क्षेत्रमा वन्यजन्तु, विशेष गरी बाँदर वारपार गर्नका लागि थप दुईवटा ‘ओभरहेड क्यानोपी ब्रिज’ (आकासे झोलुङ्गे पुल) निर्माण गरिने भएको छ।
एसियाली राजमार्ग मापदण्डअनुसार चार लेनमा विस्तार भइरहेको यस खण्डको कावासोती र लाकाहा बीचको जंगल तथा चोरमारा र अरुणखोला बीचको जंगलमा यी पुल निर्माण गर्ने तयारी अघि बढाइएको हो।
नारायणघाट-बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार पहाडी क्षेत्रबाट तराईतर्फ बाँदरहरू आउने क्रम बढेसँगै राजमार्गमा बाँदरका कारण सवारी दुर्घटनामा वृद्धि भएको छ। बाँदरले अचानक बाटो काट्दा मानवीय क्षतिसमेत हुने गरेकाले दुर्घटना न्यूनीकरण गर्न र सडक पूर्वाधारलाई वातावरणमैत्री बनाउन यी पुलहरू निर्माण गर्न लागिएको उनले जानकारी दिए।
यसअघि नवलपरासी (बर्दघाट-सुस्तापूर्व) खण्डको गैंडाकोट-१० स्थित पितौँजी जंगलमा जैविक विविधता संरक्षण तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत ३४ मिटर लामो र चार फिट चौडा एउटा ओभरहेड क्यानोपी ब्रिज निर्माण भइसकेको छ।
उक्त पुलबाट हाल फाट्टफुट्ट रूपमा बाँदरहरू वारपार गरिरहेका छन्। वन्यजन्तुहरूलाई नयाँ संरचनामा बानी पार्न सुरुका दिनहरूमा पुल क्षेत्रमा फलफूल राखेर आकर्षित गर्ने तयारी योजनाले गरेको उनले स्पष्ट पारे।
एउटा ओभरहेड क्यानोपी ब्रिज रु पाँच लाखभन्दा पनि कम बजेटमा निर्माण हुने भएकाले मुख्य राजमार्गको जङ्गल क्षेत्रमा यसको निर्माणले ठुलो दुर्घटना र क्षति रोक्न मद्दत पुग्ने देखिएको छ।
यस प्रयासले वन्यजन्तुको प्राकृतिक आवतजावतलाई सहज बनाउनुका साथै जैविक विविधता संरक्षण र वन्यजन्तु–सवारी दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। साथै, सडक विस्तार योजनाले जैविक विविधता संरक्षणका लागि जंगलभित्र पानीपोखरी निर्माण र चोरीसिकारी नियन्त्रणका कामहरूसमेत अघि बढाएको उनले बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment