आईटीयूको दक्षिण एसिया क्षेत्रीय कार्यालय र इनोभेसन सेन्टरको प्रमुखमा नेपाली विज्ञ आनन्दराज खनाल नियुक्त

डिसी नेपाल
१९ असोज २०८३ ११:३८

काठमाडौं।  नेपाली दूरसञ्चार तथा सूचना प्रविधि (आईसीयू) विज्ञ आनन्दराज खनाल अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को नयाँ दिल्लीस्थित दक्षिण एसिया क्षेत्रीय कार्यालय तथा इनोभेसन सेन्टरको प्रमुख पदमा नियुक्त भएका छन्। उनले सन् २०२६ अक्टोबर १ देखि औपचारिक रूपमा आफ्नो पदभार ग्रहण गरिसकेका छन्।

दूरसञ्चार, सूचना तथा सञ्चार प्रविधि, डिजिटल रूपान्तरण, सार्वजनिक नीति, नियमन, साइबर सुरक्षा, डिजिटल पूर्वाधार तथा नवप्रवर्तनका क्षेत्रमा तीन दशकभन्दा बढीको समृद्ध अनुभव बोकेका खनाललाई आईटीयूको दूरसञ्चार विकास ब्युरोले सन् २०२६ सेप्टेम्बर २२ मा उक्त जिम्मेवारीमा नियुक्त गरेको हो।

नयाँ दिल्लीस्थित आईटीयूको दक्षिण एसिया क्षेत्रीय कार्यालय तथा इनोभेसन सेन्टर भारत सरकारको सहकार्यमा स्थापना भई सन् २०२३ मार्चमा औपचारिक रूपमा उद्घाटन गरिएको थियो। यस कार्यालयले दक्षिण एसियाली क्षेत्रमा डिजिटल रूपान्तरण, आधुनिक प्रविधि, दूरसञ्चार तथा डिजिटल पूर्वाधार, क्षमता अभिवृद्धि, नवप्रवर्तन र अन्तर्राष्ट्रिय साझेदारी प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

आईटीयूको हालको संरचनाअनुसार यस क्षेत्रीय कार्यालयको कार्यक्षेत्रभित्र नेपाल, भारत, अफगानिस्तान, बंगलादेश, भुटान, इरान, माल्दिभ्स र श्रीलंका गरी आठ राष्ट्रहरू रहेका छन्।

खनालले नेपालको दूरसञ्चार तथा सूचना प्रविधि क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय रहेर योगदान दिँदै आएका छन्। उनले नेपाल दूरसञ्चार प्राधिकरण  मा १५ वर्षभन्दा बढी समय वरिष्ठ नेतृत्व तहमा रहेर सेवा गरेका थिए। प्राधिकरणमा वरिष्ठ निर्देशकका रूपमा कार्यरत रहँदै उनले विभिन्न समयमा कार्यवाहक अध्यक्ष तथा प्रमुखको जिम्मेवारीसमेत सफलतापूर्वक सम्हालेका थिए।

प्राधिकरणमा रहँदा उनले दूरसञ्चार तथा सूचना प्रविधि नीति, नियमन, ब्रोडब्यान्ड विस्तार, साइबर सुरक्षा, डिजिटल सेवा, अपाङ्गता भएका व्यक्तिहरूका लागि आईसीयू पहुँच अभिवृद्धि तथा नयाँ प्रविधिको विकाससम्बन्धी विभिन्न राष्ट्रिय पहलहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *