चाडपर्व नजिकिएसँगै काठमाडौंका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल, व्यापारीलाई भ्याइनभ्याइ
काठमाडौं। महान् चाड दशैंलगायतका पर्वहरू नजिकिएसँगै काठमाडौंको भृकुटीमण्डपलगायतका विभिन्न खुला बजारहरूमा किनमेल गर्ने ग्राहकहरूको चाप उल्लेख्य रूपमा बढेको छ।
दशैंका लागि नयाँ कपडा तथा अन्य आवश्यक सामग्री खरिद गर्न बजार पुगेका ग्राहकका कारण यहाँका खुला बजारहरूमा सर्वसाधारणको चहलपहल अन्य समयको तुलनामा एकाएक बढेको हो।
दशैंमा परिवारका सदस्य, आफन्त तथा बालबालिकाका लागि नयाँ कपडा खरिद गर्ने ग्राहकको सङ्ख्या ह्वात्तै बढेपछि भृकुटीमण्डपका व्यापारीहरू ग्राहकलाई सामान देखाउन र बिक्री गर्न व्यस्त देखिएका छन्।
दशैंका लागि किनमेल गर्ने मुख्य समय सुरु भएसँगै बजारमा ग्राहकको चाप बढेको भृकुटीमण्डपस्थित खुला बजारका व्यापारी अशोक खतिवडाले बताए। उनका अनुसार केही दिनयता बजारमा ग्राहकको आवागमन निरन्तर बढ्न थालेको छ।
विशेष गरी बालबालिका, युवा तथा ज्येष्ठ नागरिकका लागि आवश्यक कपडा खरिद गर्ने ग्राहकको संख्या उल्लेख्य रूपमा बढेको उनले जानकारी दिए। “दशैं नजिकिँदै गएपछि कपडा किन्ने ग्राहकको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ। आज बिहानदेखि नै बजारमा पहिलेभन्दा बढी चहलपहल देखिएको छ,” खतिवडाले भने।
दशैंमा नयाँ कपडा लगाउने नेपाली परम्परा रहेकाले पनि चाडपर्वको यो याममा कपडाको व्यापार स्वाभाविक रूपमा बढ्ने गरेको अर्का व्यापारी श्यामप्रकाश अधिकारीले बताए।
उनका अनुसार ग्राहकको चाप बढेसँगै व्यापारीलाई सामान देखाउने, ग्राहकको रोजाइअनुसार कपडा छनोट गराउने, मूल्य बताउने तथा बिक्री व्यवस्थापन गर्न भ्याइनभ्याइ हुने गरेको छ।
“अन्य दिनको तुलनामा आजदेखि ग्राहकको चाप ह्वात्तै बढेको छ। दसैँ अझै नजिकिँदै जाँदा ग्राहकको सङ्ख्या थप बढ्ने अपेक्षा गरेका छौँ,” अधिकारीले भने।
भृकुटीमण्डपमा दशैंका लागि आवश्यक लत्ताकपडादेखि जुत्ता, चप्पल, बालबालिकाका खेलौना तथा सामग्री र दैनिक उपभोगका विभिन्न सामान खरिद गर्ने ग्राहकको उपस्थिति बाक्लो बनेको छ।
एउटै स्थानमा विभिन्न प्रकारका सामानहरू सहजै उपलब्ध हुने तथा ग्राहकले आफ्नो बजेटअनुसार सामान छनोट गर्न सक्ने भएकाले खुला बजारमा किनमेल गर्नेको संख्या बढेको व्यापारीहरूको भनाइ छ। चाडपर्वको समयमा सीमित आम्दानी भएका परिवारका लागि यस्ता सस्तो बजार मुख्य रोजाइमा पर्ने गरेको व्यापारीहरू बताउँछन्।
काठमाडौं उपत्यकाका विभिन्न खुला बजार तथा सडक किनारका रात्रिकालीन पसलहरूमा ठूला सपिङ मल तथा व्यापारिक केन्द्रको तुलनामा केही सस्तो मूल्यमा लुगाकपडा तथा अन्य सामग्री पाइने भएकाले ग्राहकको विशेष आकर्षण रहने गरेको उनीहरूको भनाइ छ।
सुन्धारास्थित रात्रिकालीन सडकपेटीमा लुगाकपडा बिक्री गर्दै आएकी संगीता न्यौपानेले पनि दशैं नजिकिएसँगै ग्राहकको आवागमन बढेको बताइन्। उनका अनुसार चाडपर्वमा परिवारका सबै सदस्यका लागि एकैपटक कपडा खरिद गर्नुपर्ने भएकाले ग्राहकले मूल्य र गुणस्तर दुवैलाई ध्यान दिने गरेका छन्।
“सपिङ मलभन्दा सडकपेटीका पसल र खुला बजारमा लुगाकपडासहितका सरसामान केही सस्तो पाइन्छ। त्यसैले पनि सर्वसाधारण ग्राहकको पहिलो रोजाइ खुला बजार र सडकपेटीका रात्रिकालीन पसल हुने गरेका छन्,” न्यौपानेले भनिन्।
दसैँको आगमनसँगै मौसममा समेत क्रमिक परिवर्तन आउन थालेकाले चिसो मौसमका लागि आवश्यक लुगाकपडा खरिद गर्ने ग्राहक पनि बजारमा देखिन थालेका छन्। विशेष गरी ज्याकेट, स्वीटर, ट्रयाकसुट, हुडी तथा अन्य न्यानो कपडा खरिद गर्ने ग्राहकको सङ्ख्या पनि बढ्दै गएको व्यापारी हरिकृष्ण कँडेलले बताए।
दशैंलगायतका चाडपर्व नजिकिँदै जाँदा काठमाडौँ उपत्यकाका भृकुटीमण्डप, असन, इन्द्रचोक, न्युरोड, सुन्धारा, नयाँसडकलगायतका प्रमुख व्यापारिक क्षेत्रमा ग्राहकको चाप अझै बढ्ने व्यवसायीहरूको अपेक्षा छ।
व्यापारीहरूले दसैँलाई नै लक्षित गरी विभिन्न प्रकारका सामानको मौज्दात (स्टक) समेत बढाएका छन्। ग्राहकको मागअनुसार बालबालिका, महिला तथा पुरुषका लागि विभिन्न नयाँ डिजाइन, रङ र मूल्यका कपडा बजारमा राखिएको उनीहरू बताउँछन्। ग्राहकले पनि आफ्नो बजेट र रुचिअनुसार सामान छनोट गरिरहेका छन्।
दशैं नजिकिँदै जाँदा बजारमा देखिएको यो उत्साहजनक चहलपहलले सुस्ताएको व्यापार व्यवसायमा सकारात्मक प्रभाव पार्ने व्यवसायीहरूको अपेक्षा छ। दशैंको मुख्य किनमेलको समय अझै बाँकी नै रहेकाले आगामी दिनहरूमा ग्राहकको चाप थप बढ्ने र व्यापारमा उल्लेख्य वृद्धि हुने व्यवसायीहरूको विश्वास रहेको छ। रासस
No ads found for this position



डिसी नेपाल
Facebook Comment