उदयपुरमा वार्षिक झण्डै ८ हजार मेट्रिकटन मासु उत्पादन, ३९ प्रतिशत अन्य जिल्लामा बिक्री
उदयपुर। उदयपुरमा वार्षिक झण्डै आठ हजार मेट्रिकटन मासु उत्पादन हुने गरेको छ। जिल्लामा उत्पादन हुने मासुमध्ये ६१ प्रतिशत स्थानीय बजारमै खपत हुने गरेको छ भने बाँकी ३९ प्रतिशत अन्य जिल्लामा बिक्री तथा ढुवानी हुने गरेको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा सात हजार ७९१ मेट्रिकटन मासु उत्पादन भएको थियो। सो अवधिमा तीन हजार १२० मेट्रिकटन मासु जिल्ला बाहिर निर्यात भएको केन्द्रले जनाएको छ।
केन्द्रका कार्यालय प्रमुख शुक्रराज लिम्बूका अनुसार जिल्लामा आवश्यकताभन्दा बढी मासु उत्पादन हुने गरेको छ। स्थानीय बजारमा खपत हुन नसकेको मासु अन्य जिल्लामा बिक्री हुने गरेको उनले बताए। उदयपुरमा आवश्यक पर्ने मासुमध्ये कहिलेकाहीँ मात्रै बाहिरी जिल्लाबाट बोइलर कुखुरा ल्याउनुपर्ने अवस्था रहेको उनको भनाइ छ। सुनसरीको बराह क्षेत्र आसपास र सप्तरीको सिसबारी क्षेत्रबाट कुखुरा ल्याउने गरिएको उनले जानकारी दिए।
गत आर्थिक वर्षमा उदयपुरमा सबैभन्दा बढी सुँगुर–बङ्गुरको मासु उत्पादन भएको थियो। केन्द्रको तथ्याङ्कअनुसार उक्त अवधिमा दुई हजार १३९ मेट्रिकटन सुँगुर–बङ्गुरको मासु उत्पादन भएको थियो।
त्यसैगरी, खसीबोकाको एक हजार ९४४ मेट्रिकटन, कुखुराको एक हजार ८३५ मेट्रिकटन र राँगाको एक हजार ७५८ मेट्रिकटन मासु उत्पादन भएको थियो। भेडाको एक दशमलव पाँच मेट्रिकटन र हाँसको १० मेट्रिकटन मासु उत्पादन भएको केन्द्रले जनाएको छ।
उदयपुरमा मासु उत्पादन पछिल्लो वर्ष बढेको देखिन्छ। आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा सात हजार ५७० मेट्रिकटन मासु उत्पादन भएको थियो। त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा सात हजार ६०७ मेट्रिकटन उत्पादन भएको केन्द्रको तथ्याङ्क छ।
आर्थिक वर्ष २०८०/८१ को तुलनामा २०८१/८२ मा मासु उत्पादन ३६ मेट्रिकटन घटेको थियो। तर, त्यसपछिको आर्थिक वर्षमा उत्पादन २२१ मेट्रिकटनले बढेको छ। यसअनुसार आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो वर्षको तुलनामा मासु उत्पादन करिब २.९२ प्रतिशतले वृद्धि भएको हो।
दसैँका बेला उदयपुरका आठवटै स्थानीय तहबाट खसीबोका, राँगा तथा सुँगुर–बङ्गुर अन्य जिल्लामा बढी बिक्री हुने गरेको छ। चाडपर्वको समयमा मात्रै नभई अन्य समयमा पनि जिल्लाबाट पशुपन्छी तथा मासुजन्य उत्पादन बाहिरी जिल्लामा पठाउने गरिएको केन्द्रले जनाएको छ।
स्थानीय उत्पादनले जिल्लाको माग धान्नुका साथै अन्य जिल्लाको बजारमा समेत आपूर्ति गर्दै आएको तथ्याङ्कले देखाउँछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment