पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

डिसी नेपाल
२९ असोज २०८३ १९:०५
196
Shares

कास्की। पोखरामा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्रकुमार पासवानका अनुसार मृत्यु हुनेहरूमा मोटरसाइकल चालक पोखरा महानगरपालिका-१७ का १९ वर्षीय सफलकुमार श्रेष्ठ र लमजुङ घर भई हाल पोखरा-१७ विरौटा बस्ने ४५ वर्षीय पैदलयात्री कृष्ण कुमाल रहेका छन्।

पोखरा-१७ बालोदय चोकस्थित सिद्धार्थ राजमार्गको पोखरा-बुटवल सडकखण्डमा आज बिहान विरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदलयात्री कुमाललाई ठक्कर दिएको थियो।

ठक्कर लगत्तै अनियन्त्रित बनेको उक्त मोटरसाइकल सडकको बीचमा रहेको डिभाइडरमा गएर ठोक्किएको प्रहरी नायब उपरीक्षक पासवानले बताए।

दुर्घटनापछि स्थानीय र प्रहरीको टोलीले घाइतेहरूलाई उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याएका थिए। तर, उपचारका क्रममा चिकित्सकहरूले दुवै जनालाई मृत घोषणा गरे।

घटना र दुर्घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *