सिंहदरबारदेखि गाउँसम्म दशैंको मौनता: चाडपर्व सकिएपछि फेरि तातिनेछ राजनीतिक मञ्च

डिसी नेपाल
५ कार्तिक २०८३ ७:५४
8
Shares

काठमाडौं। केही साताअघिसम्म शक्ति संघर्ष, आन्तरिक किचलो र परस्पर आरोप-प्रत्यारोपले रापिएको नेपाली राजनीतिको पारो यतिबेला ह्वात्तै घटेको छ। दशैंको मुख्य दिन विजयादशमी नजिकिएसँगै दैनिकजसो हुने कडा वक्तव्यबाजी, आकस्मिक बैठक र राजनीतिक दाउपेच एकाएक ठप्प भएका छन्।

लगातारको राजनीतिक खिचातानी, राजदूत नियुक्तिलाई लिएर चर्किएको विवाद र पार्टीभित्रका आन्तरिक गुटबन्दीले तातिएको सिंहदरबार र पार्टी कार्यालयहरू यतिबेला पूर्णतः सुनसान बनेका छन्।

नेपालीहरूको महान् पर्व बडादशैंको आगमनसँगै शीर्ष नेताहरू आ-आफ्नो गृहजिल्ला जाने वा परिवार तथा आफन्तसँग दशैं मनाउनेतर्फ लागेपछि राजनीतिक वृत्तमा छाएको यो मौनताले सर्वसाधारणलाई भने केही दिनका लागि भए पनि राजनीतिक कोलाहलबाट राहत दिएको छ। तर, दशैं अघिका राजनीतिक घटनाक्रम र त्यसले उब्जाएका तरंगहरू भने पूर्ण रूपमा साम्य भइसकेका छैनन्, केवल दसैँको ‘सांस्कृतिक विराम’ मा थन्किएका मात्रै हुन्।

कांग्रेसको नयाँ नेतृत्व 

लामो समयदेखिको आन्तरिक रस्साकस्सी, वैधानिकताको विवाद र अदालती चुनौतीका बीच नेपाली कांग्रेसले नयाँ नेतृत्व पाएको छ। १५औं महाधिवेशनमार्फत युवा नेता गगनकुमार थापाको अध्यक्षतामा २३१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ।

यद्यपि, पूर्वसभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता डा. शेखर कोइराला समूहको बहिष्कार र आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतसम्म पुगेकाले नयाँ कार्यसमितिको यात्रा सहज भने देखिएको छैन। यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारबीचको सम्बन्धमा आएको चिसोपनले पनि केही समयका लागि विराम पाएको छ।

एमालेमा विद्याको ‘इन्ट्री’ र नेकपाभित्रको आन्तरिक द्वन्द्व

नेकपा (एमाले) को राजनीतिमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पुनः सक्रियता र एमाले केन्द्रीय कमिटीबाट वरिष्ठ सम्मानित नेताका रूपमा भएको मनोयनले पार्टीभित्र र बाहिर ठूलो राजनीतिक तरंग पैदा गरेको थियो।

भण्डारीको पार्टी राजनीतिमा पुनरागमनसँगै भावी नेतृत्वको जोडघटाउ र शक्ति सन्तुलनबारे एमालेभित्र विभिन्न अड्कलबाजीहरू सुरु भएका थिए। एमालेका शीर्ष नेताहरूबीच यस विषयलाई लिएर आन्तरिक छलफल र गुटगत भेलाहरू बाक्लिन थालेका थिए।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) र अन्य वामपन्थी घटकहरू सम्मिलित मोर्चा वा पार्टीभित्रै पनि विचार, कार्यशैली र आगामी चुनावी रणनीतिलाई लिएर गम्भीर असन्तुष्टिहरू सतहमा आएका थिए। विपक्षी दलका नेताहरू सरकारको कार्यशैलीप्रति आक्रामक बन्दै सडक आन्दोलनको चेतावनी दिइरहेका थिए।

तर, दसैँको आगमनसँगै एमालेभित्रको ‘विद्या इन्ट्री’ को चर्चा र नेकपाभित्रको असन्तुष्टिको ज्वाला दुवैमा चीसो पानी खनिएजस्तै भएको छ। सबैजसो नेताहरू काठमाडौँ छाडेर गाउँघरतिर सोझिएपछि शीर्ष तहका छलफल र रणनीति निर्माणका कामहरू ठप्प भएका छन्।

दशैंपछि फेरि तातिनेछ राजनीतिक मञ्च

नेताहरू अहिले जनता र कार्यकर्तासँग दशैंको टीका, जमरा र आशीर्वाद साटासाट गर्न व्यस्त छन्। चियापान, भेटघाट र शुभकामना आदानप्रदानका कार्यक्रममा नेताहरूले सहमति र सहकार्यका मीठा कुरा गरे पनि यो केवल चाडपर्वको औपचारिकता मात्र हो।

राजनीतिक विश्लेषकहरूका अनुसार दशैंको बिदा सकिनासाथ थन्किएका यी सबै विवादहरू पुनः बाहिर आउनेछन्। राजदूत नियुक्तिमा बाँकी रहेका कानुनी र राजनीतिक अड्चन, रास्वपासँगको सरकारको द्वन्द्व, कांग्रेसभित्रको आन्तरिक सांगठनिक खिचातानी र एमालेभित्र विद्या भण्डारीको सक्रियताले ल्याउने नयाँ ध्रुवीकरणले दशैंलगत्तै नेपाली राजनीतिलाई पुनः उत्कर्षमा पुर्‍याउने निश्चित छ।

हाललाई भने, निरन्तरको राजनीतिक दबाब र कोलाहलबाट मुक्त भएर देशैभर दशैंको उमंग छाएको छ र सिंहदरबारका गल्लीदेखि पार्टी कार्यालयहरूसम्म पूर्ण रूपमा सुनसान बनेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *