निर्देशन नमानेको भन्दै गृह मन्त्रालयद्वारा एन–प्याब्सन निलम्बित
काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन)लाई निलम्बन गरेको छ। शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै मन्त्रालयले संस्थालाई निलम्बन गरिएको औपचारिक जानकारी गराएको हो।
मन्त्रालयका अनुसार एन–प्याब्सनले सरकारद्वारा दिइएका निर्देशनहरू पालना नगरेको र संस्थाका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्य विपरीतका कार्यहरू गरेको पाइएकाले यो कदम चालिएको हो।
राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम दिइएको निर्देशन पालना नगरेकाले सोही ऐनको दफा ६ को उपदफा (२) अनुसार संस्थालाई निलम्बन गरिएको मन्त्रालयले स्पष्ट पारेको छ।
यसैगरी, मन्त्रालयले निलम्बन पश्चात् संस्थाको नाममा हुने कुनै पनि गतिविधिमाथि रोक लगाएको छ। सूचना जारी भइसकेकाले अब एन–प्याब्सनको नाममा कुनै पनि समूह वा गुटबाट हुने क्रियाकलाप गैरकानुनी ठहरिने र त्यस्ता गतिविधि गरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनीसमेत मन्त्रालयले दिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment