समाचार कक्षमै प्रहरी पठाएर पत्रकारलाई नियन्त्रणमा लिनुु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : मानवअधिकारकर्मी
काठमाडौं। समाचार लेखेकै आधारमा सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रण तथा समाचार कक्षमा हस्तक्षेप गर्ने कार्य प्रेस स्वतन्त्रता, मानव अधिकार र लोकतान्त्रिक व्यवस्थाविपरीत भएको मानवअधिकारकर्मीहरूले बताएका छन्।
पत्रकारलाई न्यूजरुमबाटै पक्राउ गर्ने, समाचार मेटाउन दबाब दिने, स्रोत खुलाउन लगाउने र समाचार लेखेकै कारण दण्डित गर्ने प्रवृत्तिले अभिव्यक्ति स्वतन्त्रता तथा नागरिकको सूचनाको हकसमेत प्रभावित हुने उनीहरूको भनाइ छ।
उनीहरूले पत्रकारले समाचारको स्रोत गोप्य राख्न पाउने अन्तर्राष्ट्रिय मान्यता र नेपालको संवैधानिक व्यवस्थाको सम्मान गर्न राज्यलाई आग्रह गरेका छन्।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा मानवअधिकारवादी सुदीप पाठकले पनि पत्रकारमाथि हुने धरपकड र समाचार कक्षबाटै पक्राउ गर्ने कार्य निन्दनीय भएको बताए।
उनका अनुसार कुनैपनि लोकतान्त्रिक देशमा पत्रकारले लेखेका वा बोलेका विषयलाई आधार बनाएर प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन र पत्रकारलाई डर तथा त्रासमा राख्न मिल्दैन।
‘मानव अधिकार र प्रेस स्वतन्त्रताको दृष्टिले यो कार्य निन्दनीय छ। जस्तोसुकै परिस्थिति र जस्तोसुकै अवस्थामा पत्रकारहरूले लेखेका कुराहरू, बोलेका कुराहरूलाई लिएर अंकुश लगाउने वा पत्रकारमाथि धरपकड गर्ने वा प्रेस स्वतन्त्रतासम्बन्धी विषयलाई डर-त्रासमा राख्न कुनैपनि प्रजातान्त्रिक, लोकतान्त्रिक देशमा मिल्दैन, पाइँदैन, यो कार्य निन्दनीय छ।’
मानवअधिकारकर्मी मोहना अन्सारीले पछिल्ला केही महिनायता अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता खतरामा परेको बताइन् । पत्रकारको मुख्य काम समाचार खोज्ने र लेख्ने भएकाले समाचारको स्रोत गोप्य राख्न पाउने अधिकारको सम्मान हुनुपर्ने उनको भनाइ छ ।
उनले अन्तर्राष्ट्रिय मान्यताअनुसार पत्रकार आफ्नो समाचारको स्रोत खुलाउन बाध्य नहुने उल्लेख गर्दै प्रहरीले अनुसन्धान गर्न पाउने भए पनि समाचार लेखेकै आधारमा पत्रकारलाई दण्डित गर्ने वा जेल हाल्ने कार्य कानुनी प्रक्रियाअनुसार हुनुपर्ने बताइन् ।
समाचार लेखेकै कारण पत्रकारलाई पक्राउ गर्ने, समाचार मेटाउने वा सञ्चारमाध्यमलाई दबाबमा राख्ने कार्य गैरकानुनी र गैरसंवैधानिक भएको अन्सारीको भनाइ छ । दुई तिहाइको सरकार हुँदैमा पत्रकारलाई धम्क्याएर वा समाचार हटाउन लगाएर प्रेस स्वतन्त्रता नियन्त्रण गर्न नसकिने उनले बताइन् ।
‘अभिव्यक्ति स्वतन्त्रता र प्रेस फ्रिडम पछिल्लो केही महिनादेखि थ्रेटमा छ । पत्रकारको काम न्यूज खोज्ने र लेख्ने हो। अन्तर्राष्ट्रिय मूल्य मान्यता अनुसार पत्रकारले आफ्नो समाचारको स्रोत बताउन बाध्य हुने छैन । उसलाई जबर्जस्ती बाध्य पारिने पनि छैन।’
उनले थपिन्, ‘प्रहरीले अनुसन्धान गर्न पाउँछ तर मिडियाले समाचार लेखेको भरमा उसलाई दण्डित गर्ने, जेल हाल्ने पनि प्रक्रिया छ । हाल प्रहरीले गलत गरिरहेको छ । पत्रकारलाई थर्काउने वा समाचारहरू मेटाउन लगाउने, समाचार लेखेको आधारमा दण्डित गर्ने त्यो सम्भव हुँदैन । त्यो गैरकानुनी हो, गैरसंवैधानिक हो ।’
अन्सारीले पछिल्लो समय प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास विगतको तुलनामा अझ बढेको दाबी गरिन् । सामाजिक सञ्जालमा लेखिएका सामग्रीलाई नै समाचार ठान्ने प्रवृत्ति बढिरहेको उल्लेख गर्दै उनले समाचार र सामाजिक सञ्जालका पोस्टबीचको भिन्नता बुझ्नुपर्ने बताइन् ।
उनका अनुसार समाचारको आफ्नै मापदण्ड र मान्यता हुन्छ । पत्रकारले समाचार खोजेर लेख्ने काम गर्छन् र त्यसका लागि स्रोतको गोपनीयता तथा पेसागत स्वतन्त्रता आवश्यक हुन्छ । सञ्चारमाध्यमको मुख थुनेर कुनैपनि लोकतान्त्रिक वा निर्वाचित सरकारले आफ्नो भविष्य सुरक्षित गर्न नसक्ने उनको भनाइ छ ।
राष्ट्रिय मानवअधिकार संगठनका अध्यक्ष इन्द्र अर्यालले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने र सञ्चारगृहमाथि अवरोध सिर्जना गर्ने कार्य नेपालको संविधान, प्रचलित कानुन र मानव अधिकारको मान्यताविपरीत भएको बताए ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले सञ्चारगृहलाई समाचार लेखेकै आधारमा बन्द गर्ने, खारेज गर्ने वा मुद्दा चलाउने व्यवस्था संविधानले नगरेको उल्लेख गरे ।
पत्रकारको समाचार स्रोतको गोपनीयताको अधिकारसमेत रहेकाले समाचार लेखेकै आधारमा धरपकड गर्नु लोकतान्त्रिक प्रणाली र आचरणविपरीत भएको उनको भनाइ छ ।
यसैगरी, मानवअधिकारकर्मी मीना पौडेलले वाक् स्वतन्त्रता, सूचना दिने र लिने स्वतन्त्रता तथा नागरिकको थाहा पाउने अधिकारलाई बन्देज गर्न खोज्नु समग्र लोकतन्त्रकै लागि नकारात्मक भएको बताइन् ।
पत्रकारको काम सूचना प्रवाह गर्नु र नागरिकको अधिकार सूचना प्राप्त गर्नु भएकाले यी दुवै पक्षलाई नियन्त्रण गर्दा लोकतन्त्रको आधार नै कमजोर हुने उनको भनाइ छ । राज्यको नेतृत्व र राजनीतिक तहबाट पछिल्लो समय देखिएका गतिविधि प्रेस स्वतन्त्रताका दृष्टिले सकारात्मक नभएको उनले बताइन् ।
उनले समाचार कक्षमै प्रहरी पठाएर हस्तक्षेप गर्नु निरंकुशता लाद्ने प्रयास भएको टिप्पणी गरिन् । प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रयास पहिलेबाटै विभिन्न बहानामा हुँदै आएको उल्लेख गर्दै पछिल्लो समय प्रहरी नै न्यूज रुममा प्रवेश गरेर हस्तक्षेप गर्ने अवस्था आउनु गम्भीर विषय भएको उनको भनाइ छ।
‘पत्रकारको काम भनेको सूचना दिनु हो। आम जनताको अधिकार भनेको सूचना पाउनु हो। दुई वटामै बन्देज गरिसकेपछि त लोकतन्त्रको एउटा आधार नै निष्क्रिय हुने स्थिति हो त्यो राम्रो लक्षण होइन,’ उनले भनिन्।
मानवअधिकारकर्मीहरूले पत्रकारमाथि हुने धरपकड र सञ्चारगृहमा हुने हस्तक्षेपलाई सामान्य घटनाका रूपमा लिन नहुने सामूहिक भनाइ थियो ।
उनीहरूका अनुसार पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्ने वा समाचारको स्रोत खुलाउन दबाब दिने प्रवृत्तिले पत्रकारिताको स्वतन्त्रता मात्र नभई नागरिकको सूचनाको हकसमेत प्रभावित पार्छ।
पत्रकारले कानुन र पेसागत आचारसंहिताको पालना गर्नुपर्ने भएपनि त्यसका नाममा समाचार लेखेकै आधारमा पक्राउ गर्ने, धम्क्याउने वा सञ्चारमाध्यममा हस्तक्षेप गर्ने कार्य स्वीकार्य हुन नसक्ने उनीहरूको निष्कर्ष छ ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment