सत्ताधारी दलभित्रको आन्तरिक विवाद लोकतन्त्रका लागि शुभ संकेत होइन: बाबुराम भट्टराई

डिसी नेपाल
२० कार्तिक २०८३ १२:०१

काठमाडौं।  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवोदित सत्ताधारी दलभित्र सरकार र पार्टीबीच असमझदारी बढ्दै गएको र उक्त विषय सार्वजनिक रूपमा पोखिन थाल्नु देश र लोकतन्त्रको निम्ति शुभ संकेत नभएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा. भट्टराईले सरकार र पार्टी नेतृत्वबीचको असमझदारी तथा अन्तर्संघर्षले विगतमा देश, लोकतन्त्र र जनतालाई ठूलो नोक्सानी पुर्‍याएको स्मरण गराएका छन्।

नेपालको राजनीतिक इतिहास कोट्याउँदै उनले विगतका प्रमुख टुटफुट र द्वन्द्वका घटनाहरू प्रस्तुत गरेका छन्। २००७ सालपछि नेपाली कांग्रेसमा बिपी कोइराला र मातृकाप्रसाद कोइराला समूहबीचको आन्तरिक कलह, २०४७ सालपछि पुनः कांग्रेसभित्रै ७४ र ३६ सांसद समूहबीचको विभाजन तथा २०५८ पछि गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा समूहबीचको फुटले देशलाई पछाडि धकेलेको उनले उल्लेख गरे। त्यसैगरी २०५२ सालपछि एमालेमा महाकाली सन्धि पक्षधर र विरोधी समूहबीचको चर्को अन्तर्संघर्ष तथा २०६४ पछि तत्कालीन माओवादीभित्र संविधान बनाउने पक्ष र जनविद्रोह गर्ने पक्षबीचको विवाद र त्यसपछिको टुटफुटले देश, लोकतन्त्र र आमजनतालाई कति नोक्सान पुर्‍यायो भन्ने कुरा इतिहास साक्षी रहेको डा. भट्टराईको भनाइ छ।

इतिहास दोहोरिने प्रवृत्तितर्फ गम्भीर ध्यानाकर्षण गराउँदै उनले भनेका छन्, “History repeats because men repeat their mistakes (इतिहास दोहोरिन्छ किनकि मान्छेले आफ्ना गल्ती दोहोर्‍याउँछन्)।” जेन-जी (Gen-Z) विद्रोहको जगमा बनेको युवा बाहुल्य पार्टी र सरकारले इतिहासका ती गल्तीहरू नदोहोर्‍याओस् भन्दै उनले बरु इतिहासबाट पाठ सिकेर नयाँ इतिहास निर्माण गर्न सत्तारूढ दल र नेतृत्वलाई आग्रह गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *