‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ घोषणा, विजेताले टोयोटा कार र १० तोला सुन पाउने

डिसी नेपाल
१७ पुष २०७६ १५:३२

काठमाडाैं। ‘मेरो डान्स कप’ को चौथो सिजन र ‘मेरो भ्वाइस कप’ को दोस्रो सिजनको औपचारिक घोषणा गरिएको छ। अमेरिकाको ओहोयास्थिति एक्रोनमा जनवरी ४ तारिखमा ग्रान्ड ओपनिङ हुने ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ को बारेमा बिहीबार राजधानीमा एक कार्यक्रमका बीच जानकारी गराइयो। ‘मेरो डान्स कप’ मा अभिनेत्री केकी अधिकारी र ‘मेरो भ्वाइस कप’ मा गायक प्रमोद खरेल निर्णायकको रुपमा रहनेछन्।

नृत्य र गायनमा रुचि हुने नव प्रतिभाहरुलाई अवसर दिने उद्येश्यले आयोजना गर्न लागिएको यी दुई रियालिटी शोको अमेरिकाको विभिन्न शहरमा अडिसन हुने अभिनेत्री केकी अधिकारीले जानकारी दिइन्। अडिसनबाट छानिएका करीब २० जना नव प्रतिभाले यस रियालिटी शोमा सहभागिता जनाउन पाउने उनको भनाइ छ। ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ का विजेताले टोयोटा कार र १० तोला सुन प्राप्त गर्नेछन्।

त्यस्तै, दोस्रो हुने विजेताले गोल्डेन कपसँगै आकर्षक उपहार पाउनेछन् भने तेस्रो हुनेले एउटा सिल्भर कप र आकर्षक उपहारहरु पाउने आयोजक सदस्यमध्येकी अभिनेत्री रीमा विश्वकर्माले जानकारी दिइन्। ‘इन्टरनेशनल होम केयर’ का सञ्चालक डिल्ली अधिकारीको आयोजनामा ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ हुन लागेको हो। नृत्य र गायनमा रुचि हुनेका लागि यो रियालिटी शो ओपन प्लाटफर्म रहेको अभिनेत्री केकी बताउँछिन्।

‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ को उद्घाटन कार्यक्रममा सहभागी हुन बिहीबार साँझ अमेरिका प्रस्थान गर्न लागेकी उनले नयाँ प्रतिभाहरुलाई अवसर र कला सस्कृतिलाई जोगाउने हिसाबले यो रियालिटी शो आयोजना हुँदै आएको बताइन्। उनी ‘मेरो डान्स कप’ को दोस्रो र तेस्रो सिजनमा पनि निर्णायकको भूमिकामा थिइन्। दुवै रियालिटी शोको ग्रान्ड फिनाले अगस्टमा हुनेछ।

‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ को उद्घाटन कार्यक्रममा नेपाली फिल्म र सांगीतिक क्षेत्रका चर्चित व्यक्तिहरुको उपस्थिति रहने बताइएको छ। सन्दीप क्षेत्री, बाबु बोगटी, दीलिप रायमाझी, सुशील क्षेत्री, सारंगा श्रेष्ठ, मेलिना मानन्धर, अरुणिमा लम्साल, शिव परियार, अञ्जु पन्तलगायत ३० भन्दा बढी फिल्म र संगीत क्षेत्रका व्यक्तिहरुकोे उपस्थिति रहने कार्यक्रममा जानकारी गराइयो।

अभिनेत्री केकी ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ को उद्घाटन कार्यक्रममा सहभागी हुन बिहीबार अमेरिका प्रस्थान गर्न लागेको भए पनि गायक प्रमोद खरेल भने केही समयपछि मात्र अमेरिका जानेछन्। गायक खरेलले विदेशी भूमिमा यस खालका कार्यक्रमहरु हुनु एकदमै राम्रो रहेको बताए। नृत्य र गायनमा रुचि हुनेहरुका लागि ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ एउटा ठूलो मञ्च सावित हुने उनको विश्वास छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *