कथाकार थापाका कथा अङ्ग्रेजीमा अनुवाद

डिसी नेपाल
२२ पुष २०७६ २०:३८

काठमाडौँ । कथाकार देवकुमारी थापाका छानिएका २१ नेपाली कथालाई अङ्ग्रेजीमा अनुवाद गरी सार्वजनिक गरिएको छ । नेपाली साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन बबरसिंह थापा सेवा गुठी विराटनगरले उनका कथा अनुवाद गरेको हो ।
गुठीले आयोजना गरेको पुस्तक लोकार्पण कार्यक्रममा विसं २०४६ अघि कथाकार थापाको ‘भविष्य निर्माण’ कथा माध्यमिक तहको पाठ्यक्रम एवं पुस्तकमा समावेश गरी पछि हटाइएकामा साहित्यकारले आपत्ति जनाउनुभएको थियो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य प्राज्ञ माया ठकुरीले नेपाली साहित्यलाई विश्वका कुना–कुनामा चिनाउन अङ्ग्रेजी भाषामा अनुदित कृतिले सहयोग गर्ने बताए। सन्देशमूलक एवं गुणस्तरीय कृति अनुवाद गर्ने क्रम बढाइनुपर्ने उनको भनाइ थियो ।

त्रिभुवन विश्वविद्यालयका प्रा. लीला लुइँटेलले कथाकार थापाको विसं २००५ मा प्रकाशित ‘भविष्य निर्माण’ कथालाई नेपाल प्रज्ञा प्रतिष्ठानले विसं २००३ भनी लेखेर सार्वजनिक गरेकामा आपत्ति जनाए। अरु साहित्यकारको पनि कृति, नाम, लिङ्गको तथ्य गलत राखेर प्रतिष्ठानले पाठकलाई पनि अन्याय गरेको उनको भनाइ थियो ।
कार्यक्रममा वरिष्ठ नाटककार अशेष मल्ल, साहित्यकार प्रमोद प्रधान, कृतिका अनुवादक महेश पौडेल, गुठीका कोषाध्यक्ष हरिमोहन श्रेष्ठ, सदस्य दीनेश श्रेष्ठ लगायतले कथाकार स्वर्गीय थापाले नेपाली साहित्यमा पु¥याउनु भएको योगदानका बारेमा चर्चा गरेका थिए।

पुस्तकमा थापाका छानिएका २१ कथा अनुवाद गरिएको छ । कृतिको मूल्य २ सय ५० छ । कथाकार थापाको विसं २०६८ मा निधन भएपछि २०६९ सालदेखि गुठीले देवकुमारी स्मृति सम्मान वितरण शुरु गरेको सो अवसरमा जानकारी गराइएको थियो । गुठीले यसअघिदेखि नै बबरसिंह स्मृति सम्मान वितरण गदैँ आएको थियो । दुवै सम्मानको राशि ५१ हजारसहित सम्मानपत्र र दोसल्ला दिने गरिएको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *