कथा : गरिबी

भूमिका गैरे तिमिल्सिना
१ कार्तिक २०८३ ८:०७

“कहाँ पढ्ने होला?” कक्षा आठ पास गरेपछि आमालाई चिन्ता पर्न थाल्यो। बढेकी छोरीलाई धेरै टाढा पठाउन पनि मनले मानेन। आफ्न्तीकहाँ लगेर राख्न पनि खै के हुने हो? भर लागेन, राम्रो हुने हो कि नहुने हो, केही भन्न सकिन्न। त्यसमा फेरि आफ्नै छोरी रमाउली भन्ने पनि थाहा भएन।

“भो! म त कतै पनि पठाउँदिनँ, बरू यहीँ नजिकैको सामुदायिक विद्यालयमा भर्ना गरिदिन्छु। नजिकै छ, आउन–जानका लागि, आफैलाई पनि ढुक्क हुन्छ। आफ्नै आँखा अगाडि रहन्छे,” भन्दै उनी फत्फताउन थालिन्, “अहिले देशमा कस्ता–कस्ता बलात्कारका घटना घटेका छन्, सुन्दा पनि मन डराउँछ, कसको के विश्वास छ र?”

आमाले छोरी अस्मितालाई त्यहीँ नजिकैको विद्यालयमा भर्ना गरिदिनुहुन्छ र पुन: सोच्नुहुन्छ, “सहरबजारमा राखेर पढाउन त मन छ नि, तर के गर्नु, परिस्थिति अनुकूल भएन। आ! जेसुकै होस्, पढ्ने छोराछोरी जहाँ पनि पढ्छन्, यी कुरा त उनीहरूको मिहिनेत अनि लगनशीलतामा भर पर्छ।

मास्टर पनि गाउँकै छन्, चिनजानको भएपछि कसो नगर्ली र?” उनी विश्वस्त हुनुहुन्थ्यो। फेरि ढुक्क हुँदै, “यहीँ नै भर्ना गरिदिन्छु, यदि पढाइमा केही नबुझ्ने भई भने म घरी-घरी विद्यालयमा गएर भन्नुपर्ला। त्यसो गरेपछि कसो नहोला र? गएर सोधिरहनु पर्ला,” भन्दै आमाले चित्त बुझाउनुहुन्छ।

अस्मिता दिनदिनै विद्यालय आउन-जाउन गर्न थाली। पढ्नमा पनि पहिलाभन्दा बढी नै लगाव राख्न थालेकी थिई। “सायद! नयाँ वातावरण, नयाँ साथीहरू पाएर पो हो कि, मैले पढ्नुपर्छ भन्ने बानीको विकास भयो,” आमा खुसीले गदगद हुनुहुन्थ्यो, आफ्नै अन्तर्मनमा रमाउँदै पनि। यही क्रम चलिरह्यो। समयले आफ्नै गतिमा निरन्तरता दिँदै थियो।

समय बित्दै गयो। यही विद्यालयमा कक्षा आठमा नै अशोक पनि पढ्थ्यो। ऊ पढाइमा असाध्यै जान्ने हुन्थ्यो। लगनशील र इमानदार पनि थियो। बाहिरी कुरामा खासै ध्यान दिँदैनथ्यो।

एकोहोरो पढाइमा मात्र लगाव राख्थ्यो अशोक। झट्ट हेर्दा जिउडाल मिलेको, मोटोघाटो आकर्षक देखिन्थ्यो, पढाइमा पनि जेहेन्दार थियो। खासै धेरै नबोल्ने, कसैले केही भनिहाले पनि ज्यादै कम बोल्ने बानी थियो अशोकको।

प्रतिक्रिया दिँदासमेत हल्का मुस्कानले मन्द मुस्कुराएर टार्ने गर्थ्यो। शान्त स्वभावले होला, ऊ जोकोहीको नजरमा पर्थ्यो। कक्षामा उसलाई सबैले मन पराउँथे, उसको स्वभावले नै सबैको ध्यान खिचेको थियो।

उनीहरूबीचमा सामान्य बोलीचाली मात्र भएको थियो। अशोक चाहिँ अलि लजालु स्वभावको थियो भने अस्मिता चाहिँ बोलिरहने, चट्पटे स्वभावकी थिई। सुरु-सुरुमा त दुवैबीच खासै कुराकानी भएन। स्वभावले दुवै ठ्याक्कै विपरीत थिए। अस्मिता नचली एकै ठाउँमा बस्न नसक्ने हुन्थी, भने अशोक भलादमी पाराको हुन्थ्यो।

यसैबीचमा उसको नजर लजालु अशोकतिर गयो। उसकी लगनशीलता, इमानदारी र अनुशासनले अस्मितालाई खिँचिरहेको थियो। ऊ एकोहोरो बोलिरहन्थी, तर अशोक मौन रहन्थ्यो। यस्तै क्रम चलिरह्यो, पछि बिस्तारै-बिस्तारै बोलीचाली बढ्न थाल्यो।

“बोलीचालीकै क्रममा अस्मिता अलि बढी बोलेको भान हुन्छ अशोकलाई। उसले पहिला त खासै मन पराउँदैन।” सुरु-सुरुमा खाली झगडा मात्र परिरहने हुन्थ्यो। तिनीहरूको बीचमा बोलीचाली पनि बन्द हुन थालेको थियो, तर पनि खोइ किन हो? एकअर्कामा नजर चाहिँ जुधिरहन्थ्यो। मुखले नबोले पनि भावनात्मक सम्बन्ध झन् प्रगाढ भएको थियो। उसको हरेक क्रियाकलाप नजिकैबाट नियालेकी हुन्थी अस्मिताले!

एक दिन ऊ चुप लागेर बस्नै सकिन अनि आवाज गरी, “अशोक, ए अशोक! किन नबोलेको? कति रिसाएर बस्न सकेको होला तिमी? छ्या!” भन्दै अस्मिता एकनाश कराउन थाली। अशोक चाहिँ आफ्नो पढाइको काममा मात्र व्यस्त भइरह्यो।

केही सुनेन, खासै त्यतातिर ध्यानै दिँदैन। उसको यस्तो व्यवहार अस्मितालाई मन पर्दैन, असह्य हुन्छ। फेरि पनि, “किन नबोलेको हँ? किन रिसाउनु पर्छ?” भन्दै नजिकै जान्छे र बोलाउँछे अनि बल्ल बोल्छ अशोक, “किन, के भयो हँ?” प्रश्न गर्छे अनि बोलीचाली फेरि सुरु हुन थाल्छ दुवैको।

कता-कता अशोकलाई पनि त्यो अस्मिताको चुलबुले बानी, बोलिरहने स्वभाव मन पर्न थालेको हुन्छ, तर त्यसमा त्यति ध्यान दिँदैन। ऊ आफ्नै पढाइलाई नै बढी महत्त्व दिन्छ, त्यसैमा लागिरहन्छ।

अस्मिताको रिसाएर बस्नै नसक्ने स्वभाव, उसको हेराइ र बोल्ने शैलीले अशोकलाई तानिरहेको हुन्थ्यो, तर हिम्मत जुटाएर भन्ने आँट गर्न सक्दैनथ्यो। मनमा अनेक भावना खेलाउन थाल्छ, तर ती सबै अव्यक्त नै रहन्छन्। उसले चाहेर पनि भन्न सकिरहेको हुँदैन, वातावरण अनुकूल पाउँदैन। उसले सही समयको प्रतीक्षा गर्छ।

अस्मिताको त्यही स्वभाव मन पर्न थालेको हुन्थ्यो। एकक्षण नदेख्दा आँखा नचाउन थाल्थ्यो। एकाएक उसको स्वभावमा परिवर्तन आउन थालेको थियो। ऊ आफैँमा खुसी रहन थालेको थियो, उसको हिँडाइ, बोलााइ र चालढालमा केही परिवर्तन आएको थियो। आफैलाई दिनप्रतिदिन परिवर्तन गर्ने कोसिसमा लागेको प्रस्टै देखिन्थ्यो। ऊ झन्भन्दा झन् राम्रो हुँदै गएको भान हुन्थ्यो।

यता अस्मिताले पनि भित्रभित्रै मन पराउन थालेकी हुन्थी। दुवै जनाले एकअर्कालाई भन्न मात्र सकिरहेका हुन्थेनन्। पढाइको साथसाथै मायाप्रेम पनि झ्याङ्गिदै गइरहेको थियो, भेटेपछि छुट्टिन खोज्दैनथे। उनीहरूको प्रेमको चर्चा चल्न थालेको थियो, विद्यालयमा थाहा नहुने पनि कमै थिए। सबैको नजरमा परेका थिए।

यस्तै गरी उनीहरूले कक्षा १० पास गर्छन्। अशोकले चाहिँ राम्रै अङ्क ल्याउँछ भने अस्मिता पास मात्र हुन्छे। उच्च शिक्षा पनि सहरमा एउटै कलेजमा पढ्न थालेका थिए। त्यसपछि त झन् उनीहरूलाई देख्ने, बुझ्ने अनि चासो राख्ने मान्छे कमै थिए।

फरक परिवेश, फरक माहोलमा झन् स्वतन्त्र महसुस गर्न थालेका थिए। दुवैले खुलेरै आफ्ना भावनाहरू व्यक्त गर्दथे। उनीहरू स्वतन्त्र थिए, भविष्यको कल्पना सँगै गर्न थालेका थिए। भविष्यको योजना बुनेका थिए अनि सँगै जिउने र मर्ने कसम पनि खाएका थिए।

दुवैले प्लस टु पनि राम्रै नम्बरले उत्तीर्ण गरे। प्लस टु पास गरेपछि अब दुवैले घरमा कुरा गर्नुपर्छ अनि छिटै नै विवाह बन्धनमा बाँधिनुपर्छ भन्ने सल्लाह गर्छन् अनि दुवै सँगै घरतर्फ लाग्छन्।

अशोक घरमा पुगेको के थियो? बुवा दमको रोगी हुनुहुन्थ्यो, एक्कासि श्वासप्रश्वासमा समस्या आयो, अस्पताल लैजाँदै गर्दा बाटामा नै बुवाको स्वर्गवास भयो। तैपनि अस्पताल पुर्‍याए, तर डाक्टरले मृत घोषित गरिदियो। बुवाको पार्थिव शरीर बोकेर रोइकराइ गर्दै आफ्नै दाजु पर्नेसँग घर फर्किन्छ।

ऋणधन गरेर बुवाको काजकिरिया सक्छ, ऊ निराश हुन्छ। परिस्थितिले अर्कै मोड लिन्छ, मनमनै सोच्छ, “के सोचेको थिएँ, आज के भएको छ? सायद! नियतिलाई मेरो खुसी मञ्जुर रहेनछ।” ऊ अन्तर्मनमै हराउँछ, चिन्तित बन्छ।

अशोक निम्नवर्गीय परिवारको हुन्छ। बुवाको मृत्युपछि उसमा घरको सम्पूर्ण जिम्मेवारी थपिन्छ। त्यसमा पनि परिवारको जेठो छोरो भएकाले जिम्मेवारी अझ बढी नै हुन्छ। उसले परिवारको आर्थिक भार कम गर्ने अनेक उपाय सोच्न थाल्छ।

घरमा बुबा नभएको, एक्ली आमाको दिनरातको सङ्घर्ष नजिकैबाट नियाल्न थाल्छ। यो समाजले दुःखी, गरिबलाई हेर्ने दृष्टिकोण राम्रैसँग बुझेको थियो। उसले आफ्नो खुसी र चाहनालाई तिलाञ्जलि दिन्छ। परिवारको आर्थिक भार कम गर्ने उपाय सोच्न थाल्छ।

कसरी पैसा कमाऊँ र परिवारमा खुसी छरुँ? दिनरात कामको खोजीमा भौतारिन थाल्छ। घरी कता त घरी कता डुल्छ। एक दिन गाउँकै भिनाजु पर्नेले सल्लाह दिँदै भन्छन्, “के गर्ने सोचमा छस् केटा? विदेश जान्छस् हँ? यदि जाने भए मैले राम्रो एजेन्टलाई चिनेको छु, तेरो के कुरा राखूँ?”

त्यो सुनेर ऊ केहीबेर सोचमा पर्छ, मनमनै विचार गर्छ, “जानुपर्छ कि क्या हो? तीन वर्ष बसें भने राम्रै पैसो कमाउला नि! घरपरिवारको जीवनस्तर अलि उकास्न कसो नसकूला र? बुवाको काजकिरियामा लागेको ऋण पनि तिरिहाल्छु, अनि आएर अशुसँग विवाह गर्छु। त्यसपछि यतै केही गरौँला।” भन्ने सोच्छ र घरपरिवारसँग सल्लाह गरेर भोलि निधो दिने निर्णय गर्छ र बिदा हुन्छ। मनमा अनेक तर्कना खेलाउन थाल्छ, घर फर्किन्छ।

कुनै दिन आफ्नी आमाको मुहारमा पक्कै पनि खुसी फर्काउने छु, भाइबहिनी पढाउनु पनि छ भन्दै धन कमाउन ऊ कतारतिर लाग्ने सोच बनाउँछ।

घरमा कुरा राख्छ। सुरुमा त आमा अन्कनाउनु भयो, “तँ गइस् भने घरमा कसले गर्छ बाबु? म बुढी भएँ, जहान परलोक जानुभयो। यत्रो घरको काम, वस्तुभाउ, खेतीपाती कसले गर्न सक्छ? अनि जिम्मेवारी कसले निभाउन सक्ला र खोइ? के मैले मात्र सकूला र?” आमा दोधार हुनुभयो।

अशोकले शान्त स्वरमा सम्झाायो, “यसरी हरेस नखानुहोस् न आमा! म हजुरहरूकै खुसीको लागि त हो नि, जान लागेको। फेरि भाइ पनि बुझ्ने भएको छ, उसले हेर्न सक्छ, म सम्झाउँला त्यसलाई।

विदेशमा केही वर्ष बसें भने ऋण तिरोला, केही पैसा पनि ल्याउँला अनि बिहे पनि त गर्नुछ, तपाईंलाई बुहारी चाहिदैन र?” उसले ठट्याउलो पारा देखायो। त्यो सुनेर आमा खिस्स हाँस्नुभयो अनि बडो कठिनले “हुन्छ” भन्दै संकेत गर्नुभयो, टाउको हल्लाउनु भयो।

उता अस्मितालाई पनि सबै वृत्तान्त बताउँछ, “अबको तीन वर्षपछि म तिमीलाई भेट्नेछु” भन्ने वाचा पनि गर्छ र आफू कतार जान लागेको पनि बताउँछ। पहिला त अस्मिताले ज्यादै गाह्रो महसुस गर्छे, तर पछि उसको समस्या बुझ्ने प्रयास गर्छे र जाने सल्लाह दिन्छे। आफूले कुर्ने बाचासमेत गर्छे।

ऊ धनी बाउकी एक्ली सन्तान थिई। उसलाई खासै अभाव थिएन। साहुखान्दानकी अस्मितालाई घरको केही काम गर्नुपर्दैनथ्यो, घरमा नोकरचाकर थिए, उसको स्तर फरक थियो। पढाइ सकेपछि घरमा विवाहको कुरा चल्न थाल्यो। उसले सुइँको पाई, आमाले बाबालाई भन्नुभयो, “अब छोरीले राम्रो अंक ल्याएर प्लस टु पनि पास गरी।

अलि राम्रो कूल, खानदान हेरेर बिहे गरिदिनुपर्छ, कुरा चलाउनुहोस् त! लौ, कुरा छोड्नुहोस् है, बुझ्दै गर्नुहोस्, म पनि बुझूला।” ती सबै कुरा उसले लुकेर सुनेकी थिई। ऊ भयभीत भई, “के मैले बाबाआमालाई सम्झाउन सकूला? यदि मान्नुभएन भने के होला?” परिणाम कस्तो आउँला भन्नेमा एकोहोरो घोरिरहन थाली, ऊ डराई।

अस्मितालाई अब घरमा विवाहको कुरा चल्न थालेर बडो गाह्रो महसुस हुन थाल्यो। ऊ डराएकी थिई, अवस्था प्रतिकूल थियो, तर पनि असहज अवस्थामै आमाबुवालाई सबै कुरा भनी- आफ्नो र अशोकको प्रेमसम्बन्ध, ऊ बिना आफू बाँच्न नसक्ने, बिहे गरे उसैसँग मात्र गर्ने, अझै तीन वर्ष विवाह नगर्ने, ऊ अहिले विदेश भएकाले आएपछि मात्र विवाह गर्ने आदि इत्यादि निहुरिएरै कम्पित स्वरमा सबै वृत्तान्त बताई।

“के हो छोरी तेरो पारा? को हो त्यो अशोक भन्ने केटा?” बाबा जङ्गिए, सबै केरकार गर्न थाले। बुझ्दै गए, केटो विदेश गएको रहेछ। उनलाई खासै चित्तबुझ्दो लागेन अनि अस्मितालाई सम्झाउँदै भन्न थाले, “हेर छोरी, त्यो केटासँग तिम्रो भविष्य छैन। दुःख पाउँछौ, सम्पत्ति पनि खासै रहेनछ, परिवार पनि ठूलो रहेछ। त्यस्तासँग गर्ने होइन। गरिब, दुःखीसँग विवाह गर्दा भोलि आफैँलाई दुःख हुन्छ। विवाह भन्ने कुरा त धेरै विचार गरेर गर्नुपर्छ, नत्र दुःख पाइन्छ।” आदि इत्यादि सम्झाए।

अस्मिता जिद्दी गर्छे, मान्दिनँ। बाबाले रिसको झोकमा भने, “हेर, भोलि दुःख पाइस् भने यहाँ माग्न आउनु नपरोस् है! भन्दै छु, तेरै भविष्यको लागि भनेको हो। तलाई नै राम्रो होस् भनेर भनेको, बुझ्दिनस् अझै? के म तेरो शत्रु हो, कुभलो चिताउने?” राता आँखा बनाउँदै रन्किए बाबा।

ऊ डरले कम्पित भई, रोइकराइ लाचार बनी। विवश थिई, घरका र आफन्ती सबै एकैचोटि खनिए। ऊ केही बोल्नै सकिन, केवल मौन रही।

घरपरिवारको आग्रह/अनुरोधलाई स्वीकार गर्दै ऊ चुपचाप सहिरही, मौन रहन्छे, सबै सहन्छे। परिवारकै सल्लाहबमोजिम सामाजिक सञ्जालबाट पनि ब्लक गर्छे अशोकलाई! उनीहरूबीच दूरी बढ्दै जान थाल्यो, बोलचाल पनि बिस्तारै हरायो।

त्यसको केही समयपछि आफ्नी दिदी पर्नेको सल्लाहबमोजिम धनी परिवारको एक्लो छोरो, अस्ट्रेलियाको पि.आर. पाएको बालकसँग कुरा गर्न थाल्छे। बोलीचाली झ्याङ्गिन थाल्छ, विदेशको झिलिमिली परिवेशले अस्मितालाई तान्न थाल्छ। एकअर्कामा माया बढ्न थाल्छ। भोलिको भविष्य सुरक्षित रहेको भान हुन्छ। बिस्तारै रमाउन थाल्छे अस्मिता!

उता अशोक चाहिँ आफूसँगै जिउने, मर्ने कसम खाएकी अशुको त्यो व्यवहारले तनाव महसुस गर्छ, छट्पटिन्छ। काममा पनि खासै चासो दिँदैन, जसका कारण कम्पनीमा पनि एउटा-एउटा समस्या खडा हुन थाल्छ।

काम बिग्रिरहन्छ, सुरुमा मन पराए पनि पछि उसकै लापरवाहीका कारण कम्पनीले पनि निकालिदिन्छ। अशोक तनावग्रस्त रूपमा छटपटीका साथ घर फर्कन चाहन्छ, तर साथमा टिकट काट्ने पैसा पनि हुँदैन।

अनेक प्रपञ्च रचेर बल्लतल्ल पैसाको जोहो गर्छ अनि टिकट काट्छ। उसले आफ्नो भविष्य अन्धकार देख्छ, सपना सबै चकनाचुर भएको महसुस गर्छ। बाँच्नुको अर्थ पाउँदैन। “यति लामो समयसम्म चलेको हाम्रो प्रेमसम्बन्ध क्षणभरिमै टुङ्गियो! साँचो प्रेमको परिणाम सायद मेरो गरिबीले टुङ्ग्यायो है!” भन्ने भान हुन्छ, आतिन्छ अशोक।

ऊ रित्तो हात आउँछ। घर आउँदा अस्मिताको अर्को केटासँग विवाह भइसकेको पाउँछ। ऊ पागलजस्तै हुन्छ। न उसले आफ्नो पीडा बाँड्न सक्छ, न त केही कसैलाई भन्न नै! आमालाई केही भन्यो भने आफैँ बिरामी हुनुहुन्छ, उसले थप तनाव दिन चाहँदैन।

भाइबहिनी सानै छन्, कसैलाई सुनाउन सक्दैन। आफ्ना साथीहरूलाई भने सुनाउँछ, तर तिनीहरूले पनि केही गर्न सक्दैनन्, केवल सान्त्वना दिन बाहेक। विवाहको समयमा रामले धेरै सम्झाउने प्रयत्न गरेको रहेछ अस्मितालाई, तर सबै अर्थहीन भएछ। उसले मान्नै चाहिन अनि परिवारको दबाब रहेको बताई।

रामले बडो कठिनले अस्मिताले भनेका कुरा बतायो, “अब अशोक आएपछि उसलाई सुनाइदिनू कि आफ्नो बाटो गर्नु, मभन्दा सुन्दर अनि सुशील केटीसँग विवाह गर्नु, मलाई नराम्रो सपना सम्झेर बिर्सिदिनू, भुलिदिनूमा नै अब हामी दुवैको भलाइ हुनेछ।” उसको बाचासहितको चिठी हातमा थमाइदिन्छ रामले अनि आफ्नो विवाहको निम्तो दिन्छ र बिदा हुन्छ।

बालापनदेखिकै साथी रामको विवाहमा झुत्रेझाम्रे कपडा लगाएर रक्सीको मातमा अन्धाधुन्ध खुब नाच्न थाल्छ। देख्ने कोहीले रमाइलो मानेर हेरिरहेका छन् त कोहीले अनेक टीकाटिप्पणी गरेको देखिन्थ्यो।

तर उसलाई बुझ्ने दौँतरीले भने सम्झाउने हरसम्भव प्रयास गरेका थिए, सकिरहेका हुँदैनन्। उसले उपस्थित सबैको बेवास्ता गर्छ, कसैलाई ध्यान दिँदैन, एकोहोरो नाचिरहन्छ आफ्नै सुरमा।

सबैले एकटकले हेरिरहेका हुन्छन्। कोही रमाएका थिए त कोही उसको विगत सम्झँदै निराश थिए, कोही सान्त्वना दिन खोज्दै थिए। जसमा गीतको बोल हुन्छ:

“बेहुला बनाउँछु भन्थी, बहुला बनाएर गई।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *