लागुऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ

डिसी नेपाल
१ कार्तिक २०८३ ८:१७

काठमाडौँ। प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ। नियमित गस्तीमा खटिएको प्रहरी टोलीले विभिन्न प्रकारका लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।

प्रहरीका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङबाट ट्रामाडोलसहित चितवनको राप्ती नगरपालिका–१ का ३२ वर्षीय गोविन्द तामाङ र मकवानपुरको मनहरी गाउँपालिका–३ लामिटारका २४ वर्षीय सफल विक्रम राणा पक्राउ परेका छन्।

त्यस्तै, ललितपुर महानगरपालिका–१८ वाइवाई चोकबाट ट्रामाडोलसहित धादिङको नीलकण्ठ नगरपालिका–५ घर भई ललितपुरको चुनिखेलमा बस्ने २२ वर्षीय नवीन आले मगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उदयपुरको बेलका नगरपालिका–८ कोठुबाट नाइट्राजेपामसहित बेलका नगरपालिका–४ प्रगति टोलका २१ वर्षीय सरोज बर्देवा पक्राउ परेका छन्।

यसैगरी, कञ्चनपुरको बेलौरी नगरपालिका–१ फटैया खल्लाबाट ब्राउनसुगरजस्तो देखिने पदार्थसहित पुनर्वास नगरपालिका–११ डोकेबजारका ३० वर्षीय विशाल विक र कैलालीको जोशीपुर गाउँपालिका–९ का २२ वर्षीय कुशल चौधरी पक्राउ परेका छन्। झापाको मेचीनगर नगरपालिका–२ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित मेचीनगर नगरपालिका–८ का ३९ वर्षीय मिलन मेचेसहित चार जना पक्राउ परेका छन्।

सुनसरीको इटहरी उपमहानगरपालिका–१ हलगडा चोकबाट ट्रामाडोल र डाइक्लोमाइनसहित मोरङको सुन्दरहरैँचा नगरपालिका–५ सिक्किमे चोकका ३१ वर्षीय पर्शुराम गुरुङ पक्राउ परेका छन्। त्यस्तै, इटहरी–२ बरगाछीबाट सोही ठाउँका २८ वर्षीय उज्ज्वल बुढाथोकी पनि पक्राउ परेका छन्। प्रहरीले उनीहरूले प्रयोग गरेका दुईवटा मोटरसाइकलसमेत बरामद गरेको छ।

त्यसैगरी, तनहुँको भिमाद नगरपालिका–६ शान्तिनगर टोलमा डेरा गरी बस्ने भिमाद नगरपालिका–३ जलौदीका ३१ वर्षीय शिव मल्ललाई फेनारगन, डाइजेपाम र बुप्रेनोर्फिनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *