प्रधानमन्त्री कार्यालयद्वारा प्राविधिक विज्ञहरूको लागि आकर्षक तलबसहित दरखास्त आह्वान
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले विभिन्न सरकारी निकायमा सफ्टवेयर प्रणालीको निर्माण, स्तरोन्नति र सुरक्षा व्यवस्थापनका लागि उच्च पारिश्रमिक सुविधासहित ठूलो सङ्ख्यामा प्राविधिक विज्ञहरूको दरखास्त आह्वान गरेको छ। सरकारी निकायका प्राविधिक कामलाई आधुनिक र सुरक्षित बनाउने उद्देश्यले सूचना प्रकाशित भएलगत्तै पहिलो दिनमै एक सयभन्दा बढी आवेदन परेका छन्।
केन्द्रले गत असोज २९ गते जारी गरेको सूचना अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले आगामी कात्तिक १८ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। सार्वजनिक गरिएको विज्ञापनमा निजी क्षेत्रको कर्पोरेट हाउसभन्दा पनि आकर्षक पारिश्रमिकको व्यवस्था गरिएको छ, जसअन्तर्गत प्रमुख प्रविधि विज्ञको मासिक पारिश्रमिक २ लाख ५० हजार रुपैयाँ तोकिएको छ। यस पदका लागि सूचना प्रविधि विषयमा स्नातकोत्तर गरी आर्किटेक्चर, प्रविधि रणनीति र सुशासनमा अनुभव भएको हुनुपर्नेछ।
यसैगरी सूचना प्रविधिमा स्नातकोत्तर गरेका दुई जना प्रोजेक्ट म्यानेजर तथा स्नातक तह उत्तीर्ण भएका विभिन्न पाँच क्षेत्रका सेक्टर प्रमुख पदहरूका लागि मासिक २ लाख रुपैयाँ पारिश्रमिक तोकिएको छ। अन्य पदहरूमा चार जना सिस्टम एनालिस्टलाई १ लाख ६० हजार, तीन जना सिनियर डेभलपर र दुई जना सिस्टम/नेटवर्क/डेटाबेस एडमिनिस्ट्रेटरलाई १ लाख ४० हजार रुपैयाँ पारिश्रमिक दिइनेछ।
त्यस्तै १५ जना मध्यम तहका डेभलपरलाई मासिक १ लाख २५ हजार, दुई जना साइबर सुरक्षा विज्ञलाई १ लाख १० हजार, दुई जना क्वालिटी एनालिस्ट र दुई जना यूआई/यूएक्स डिजाइनरलाई ९० हजार रुपैयाँ पारिश्रमिक तोकिएको छ। यस बाहेक तीन जना जुनियर डेभलपरलाई ४८ हजार र दुई जना टेक सपोर्टका लागि ४० हजार रुपैयाँ मासिक पारिश्रमिकको व्यवस्था गरिएको छ।
इच्छुक आवेदकले बायोडाटा, नागरिकता, शैक्षिक योग्यता र अनुभवका प्रमाणपत्रसहित केन्द्रको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्। उच्च तहका पदका लागि शैक्षिक योग्यता, अनुभव, प्रस्तुतिकरण र अन्तर्वार्ताका आधारमा छनोट गरिनेछ भने अन्य पदहरूमा प्रयोगात्मक परीक्षासमेत लिइनेछ। विज्ञहरूको सेवा सुविधा र करार सम्झौता सफ्टवेयर विकास तथा सञ्चालन विकास समिति गठन आदेश, २०८३ बमोजिम हुनेछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment